Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मोदी र ओलीले एकसाथ स्वीच थिचेर गरे पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन

मोदी र ओलीले एकसाथ स्वीच थिचेर गरे पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन

काठमाडौं,२४ भदौ ।  भारतको मोतिहारीबाट नेपालको अमलेखगन्ज सम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरिएको छ । दुवै देशका प्रधानमन्त्रीले आ-आफ्नो कार्यालयबाट स्वीच थिचेर दक्षिण एसियाको पहिलो क्रस वोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहरदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित आफ्नो कार्यकक्षबाट संयुक्तरूपमा स्वीच थिचेर पाइपलाइन उद्घाटन गरेका हुन्। पाइपलाइनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको ठोस राजनीतिक प्रतिबद्धता र बलियो सङ्कल्पका कारण पाइपलाइन परियोजना समयभन्दा अगाडि नै उद्घाटन अवसर मिलेको बताए ।

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुवै देशको हितमा रहेको दक्षिण एसियाकै पहिलो क्रस वोर्डर पेट्रोलियम पाइपलाइन परियोजना रहेको उल्लेख गर्दै परियाजना निर्धारित समयभन्दा अगाडि नै उद्घाटन गर्न पाएकाेमा खुसी व्यक्त गरेका छन्। पाइपलाइन उद्घाटन पछि संवोधनको क्रममा ओलीले पछिल्लो पाँच वर्षमा महत्वपूर्ण द्विपक्षीय परियोजनाहरू पूरा गरेको र अन्य थुप्रै प्रयासका नतिजा चाँडै आएको मोदीले बताए। ‘पछिल्लो वर्ष हामीले संयुक्तरूपमा पशुपतिनाथ धर्मशाला र आइसिपी वीरगन्जको उद्घाटन गरेका थियौं,’ मोदीले भने , ‘विकासका लागि हाम्रो साझेदारी थप सक्रिय बनाउने र नयाँ क्षेत्रमा सहयोग थप्‍नका लागि हामीले नयाँ अवसरहरूको फाइदा उठाएका छौं। हाम्रो संयुक्त प्रयासहरूका उद्देश्य भनेको हाम्रा जनतालाई लाभ मिलोस् र उनीहरूको उन्‍नति होस् भन्‍ने हो।’ सन् २०१५ को विनाशकारी भूकम्पपछि नेपालको पुनर्निर्माण अभियानमा भारतले आफ्नो छिमेकी तथा निकटतम मित्रका नाताले सहयोग गरेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीले गोरखा र नुवाकोट जिल्लामा गरेको सहयोगको स्मरण गरे।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ ।पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । जसको घोषणा प्रधानमन्त्रीले उद्घाटनको संवोधनमा नै गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x