बिओकेको पूर्व सिईओ सहित तीन जना कर्मचारीलाई थुनामा राख्न पाटन अदातलले दियो आदेश
काठमाडौं १० असोज। कमसल जमिन धितोमा राखी कर्जा प्रवाह गरेको प्रकरणमा पक्राउ परेका बैक अफ काठमाडौमा पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित तीन जनालाई काठमाडौ पाटन अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उच्च अदालतको वाणिज्य इजलासले श्रेष्ठसहित बैंकका सिनियर म्यानेजर किरण कुमार बोहोरा र ऋणका लागि नक्कली कागजात तयार पार्ने सुरेन्द्र श्रेष्ठलाई थुनामा पठाएको हो। मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलासले अन्य ९ प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। ६ करोड ६४ लाख ५७ हजार ५३४ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। शुक्रवार अबेरसम्म थुनछेक बहस भएको थियो।
अदालतको आदेशमा सुरेन्द्र श्रेष्ठले झुटा विवरण तयार पारी बैकलाई झुक्काएर धितो राखेको उल्लेख गरेको छ । त्यस्तै अजय श्रेष्ठले धितोको मूल्यांकन विवरण यकिन नगरी स्वीकार गरेको अदालतको आदेशमा उल्लेख छ। यस्तै, प्रतिवादी बोहोरा कर्जा प्रवाहको जिम्मेवार भूमिकामा देखिएकाले कसुर गरेको होइनन् भन्ने प्रमाण तत्काल नरहेको आदेशमा उल्लेख छ।
अदालतले प्रतिवादीमध्ये भेषराज खत्री र गणेश लम्साललाई एक करोड ५८ लाख धरौटी माग गरेको छ। भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया, कृष्णबहादुर कार्कीलाई अदालतले जनही ७९ लाख रुपैयाँ धरौटी माग गरेको छ। पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ, विभु विक्रम पन्त र सुष्मा शाहसँग अदालतले जनही ४० लाख रुपैयाँ धरौटी माग गरेको छ। प्रतिवादीहरू सुरेन्द्र श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीलाई सरकारी काजगाज कीर्तेमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा पठाउन पनि आदेश जारी गरेको छ। आदेश अनुसार भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीले धरौटी बुझाए पनि कीर्ते अनुसन्धान जारी रहेकाले थुनामुक्त हुन नपाउने भएका छन्। यस्तै अदालतले फरार प्रतिवादीका रूपमा अभियोग लगाइएका प्रेमप्रसाद पाण्डे, कल्पना शाही सिंह श्रेष्ठ, मीना सिंह विष्ट र सुनेना सेलालिकका नाममा हाजिर हुन आउने म्याद जारी गर्न पनि आदेश गरेको छ।