एनआरएनएले श्रमिक कल्याणकारी कोषमा १ करोड ६ लाख जम्मा गर्ने
काठमाडौं, ३ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । संघको आज बसेको पहिलो बैठकमा एनआरएनएका अध्यक्ष कुमार पन्तको उक्त प्रस्तावमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सहमति जनाएका हुन ।
त्यस्तै, सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । पूर्वाधार विकासका लागि १० अर्ब रुपैयाँको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्ने निर्णय पनि बैंठकले गरेको छ । संघको निर्वाचन विधुतीय पद्दतीबाट प्रत्यक्ष मतदान मार्फत गर्न र निःशुल्क सदस्यताबारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन् ।
संघमा अब ५ बिभाग
त्यसैगरी संघमा अब ५ बिभाग रहने छन् । ५ उपाध्यक्षहरुको नेतृत्वमा वैदेशिक रोजगार, परोपकारी तथा मावकल्याण, व्यपार तथा लगानी, सिप तथा ज्ञा, र नवप्रवर्तन तथा नेपाल प्रवर्धन विभाग गठन गरिने छ । विभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरु रहने ब्यवस्था छ। एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
संघको संरक्षक परिषद गठन
बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकहरुमा पूर्वअध्यक्ष द्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा रहने छन् । बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने निर्णय गरेको छ ।