सार्वजनिक यातायातको भाडादर निर्धारणका सुचकहरुको अध्ययन गर्दै सरकार
काठमाडौँ, ९ कार्तिक । सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन यातायात व्यवस्था विभागले अध्ययन शुरु गर्ने भएको छ। हालसम्म सरकारले प्रयोग गर्दै आएको आधार उचित हो वा होईन भनेर सरकारले अध्ययन सुरु गर्न लागेको विभागले जनाएको छ ।
हालको व्यवस्था अनुसार ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च तथा सवारीसाधनमा प्रयोग हुने उपकरण लगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएको छ । तर, वर्तमान अवस्थामा यो आधार समयसापेक्ष छ वा छैन भनेर पनि अध्ययन गर्न लागिएको विभागले जनाएको छ । अध्ययन पछि भाडा पुनरावलोकन गरिने विभागले जनाएको छ । एक दशक पहिलेदेखि शुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनले भने, “केही महीनाभित्रमा त्यसको अध्ययन हुनेछ।”
अहिलेसम्म सरकारले १८ सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो। ती सूचकहरु बढ्न वा घट्न सक्ने उनले बताए । भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताए।