अर्काे वर्षबाट कर प्रणालीमा व्यवसायीको गुनासो आउँदैनः अर्थमन्त्री खतिवडा

काठमाडौं, ८ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्काे वर्षबाट व्यवसायीहरुबाट दोहोरो कर र अधिक करको गुनासो नआउने बताएका छन् । विश्व बैंकले सार्वजनिक गरेको डुईङ् विजनेस सुचकका बिषयमा आयोजित छलफलमा बोल्दै मन्त्री खतिवडाले वित्तीय संघीयताको संक्रमणकाल छिटो व्यवस्थापन भएको भन्दै अर्को वर्षबाट यस्ता गुनासा नआउने बताएका हुन् । त्यसको लागि सरकारले नीतिगत कुरामा सुधार गर्दै जाने उनले जानकारी दिए ।


छलफलमा पछिल्लो समय सरकारले गरेका नीतिगत सुधारका बिषय निजी क्षेत्रले नबुझेको मन्त्री खतिवडाको गुनासो गरे । उनले यो वर्ष भएको नेपालको डुईङ् विजनेसमा सफलतासँगै अर्काे वर्ष ८० स्थानमा आउने लक्ष्यका साथ काम गर्ने बताए ।

त्यस्तै राजस्व सचिव शिशिरकुमार ढुंगानाले ७ वटा मन्त्रालय र विभिन्न निकायसँगको समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत व्यावसायिक सहजता सूचक सुधारमा नेपालको अवस्था सुदृढ गर्न निरन्तर मेहनत गरिएको उल्लेख गरे । व्यवसायिक सहजता सूचकमा नेपालको अवस्था बलियो बनाउन ३ वर्षे रणनीति तय गरिएको पनि उनले बताए ।

त्यसैगरी विश्व बैंकले बिहीबार सार्वजनिक गरेको डुईङ् विजनेस प्रतिवेदनमा नेपाल १६ स्थान माथि उक्लिँदै ९४ औँ स्थानमा आइपुगेको छ । नेपाल दक्षिण एसियामा तेस्रो भएको हो । १९० देशमा गरिएको मूल्यांकनमा नेपाल गत वर्ष ११० औँ स्थानमा थियो । गत वर्ष ५ स्थान तल झरेको नेपालले यसपटक ठूलो फड्को मारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *