Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बालबालिकाको बीमा गरे बचत पनि सुरक्षा पनि, कुन बीमा कम्पनीको कस्तो योजना (विवरण सहित)

बालबालिकाको बीमा गरे बचत पनि सुरक्षा पनि, कुन बीमा कम्पनीको कस्तो योजना (विवरण सहित)

बलराम बुढाथोकी
काठमाडौं, १६ कात्तिक । हिन्दुहरुको महान पर्व विजयादशमी तथा तिहार सकिएसँगै मानिसहरु सामान्य दिनचर्यामा फर्कन सुरु गरेका छन् । तराईक्षेत्रमा भने अझै छठ पर्वको रौनक छ । यो बर्षको चार्डपर्व सकिए पनि बालबालिकाहरु भने अर्को बर्षको दशैं तिहारको लागि अहिलेदेखि नै औला गन्न सुरु गरेका छन् । कतिपय बालबालिका भने दशैं तिहारमा संकलन गरिएको पैसाको हिसाव किताब गर्दैछन् ।

हिन्दूहरुको लागि दशैं तिहारको बिषेश महत्व भए पनि बालबालिकाको लागि भने नयाँ कपडा लगाउँने, मिठो परिकार खाने, देउसी खेल्ने र पैसा कमाउँने पर्व हो । कतिपय बालबालिकाले यति बेला संकलन भएको पैसा बिशेष योजना बनाएका हुन्छन् । तर, अधिकांश बालबालिकाले बजारमा पाईने अनेकथरी परिकार खाएर वा खेलौना खरिद गरेर नै पैसा सक्छन् ।

त्यसैले चार्ड पर्वमा बालबालिकाले संकलन गरेको पैसालाई बचत गर्न सिकाउँने अभिभावकको जिम्मेवारी हो । यस्तो पैसालाई उचित व्यवस्थापनका लागि बीमा योजना खरिद गर्नु राम्रो विकल्प हुन सक्छ । बीमाले बालबालिको भविष्यको लागि आवश्यक पर्ने आर्थिक रकमको सुनिश्चितता गर्छ भने बालबालिकालाई पनि बचत गर्न सिकाउँछ ।

नेपालमा १९ वटा जीवन बीमा कम्पनी छन् । बीमा कम्पनीहरुले बालबालिकालाई लक्षित गरी विभिन्न खालका बीमा योजना सञ्चालनमा ल्याएका छन् । यस्तो योजनाले बालबालिकालाई भोलिको दिनमा अध्ययन, विवाह र ब्रतबन्धका लागि आवश्यक रकम सुनिश्चितता गर्छ । त्यसैले कम्पनीहरुले सञ्चालनमा ल्याएका योजनाको अध्ययन गरी उचित योजना खरिद गर्नु बुद्धिमानी हुनेछ ।

कम्पनीहरुले सञ्चालनमा ल्याएका बीमा योजनाहरु
सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकालाई लक्षित गरी सूर्या संरक्षित (सावधिक) जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । यस योजना अनुसार भर्खरै जन्मेको बच्चादेखि १५ वर्षसमम्मको बच्चाको बीमा गर्न सकिन्छ । तर, बीमितको उमेर ६ वर्ष पुगेमा वा बीमा प्रारम्भ मितिबाट २ वर्षको बीमा शुल्क भुक्तानी गरी अवधि पूरा भएको अवस्थामा जुन घटना पछि हुन्छ, सो अवधिदेखि जोखिम प्रारम्भ हुन्छ ।

राष्ट्रि बीमा संस्थान
राष्ट्रिय बीमा संस्थानमा बालबच्चालाई लक्षित गर्दै वात्सल्य जीवन बीमा र बाल उमंग बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले सञ्चालनमा ल्याएको वात्सल्य जीवन बीमा यस योजना भर्खरै जन्मेको बच्चाको पनि बीमा गर्न सकिनेछ । अधिकत्तम ८ वर्षसम्मका बालबालिका यस योजनामा समावेश हुन सक्नेछन्  । यो योजना अन्तर्गत १ लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्मको बीमा गर्न सकिन्छ ।

त्यस्तै बालउमंग बीमा योजना १ बर्ष देखि ११ वर्षसम्मका बालबालिकाका लागि योजना खरिद गर्न सकिन्छ । यस योजनाको न्यूनतम अवधि ५ वर्ष र अधिकतमअवधि १५ वर्षसम्मको हुन्छ । अधिकतम अवधि भुक्तानी उमेर १६ वर्षको हुनेछ । त्यस्तै, १ लाखदेखि प्रस्तावकको आयस्रोत र बिमित–प्रस्तावकको स्वास्थ्य परीक्षणका आधारमा अधिकतम बीमांक रकम कायम गर्न सकिन्छ । तर, २० लाखभन्दा बढी रकमको बीमा गर्दा प्रस्तावकको समेत कम्तीमा समान रकमको बीमा अनिवार्य रूपमा गर्नुपर्छ ।

सानिमा लाइफ इन्स्योरेन्स
सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले बालबालिका लागि बाल सौगात बीमा योजना सञ्चालनमा ल्याएको छ । न्यूनत्तम ३ वर्ष अधिकत्तम ११ बर्षको बालबालिका लागि यो योजना खरिद गर्न सकिनेछ । यस बीमा योजनाको अवधी अधिकतम १० वर्षको हुने र अधिकतम २१ वर्ष कायम गरेको छ ।

सिटिजन लाईफ इन्स्योरेन्स
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले ‘बाल भविष्य जीवन बीमा’ नाम बालबालिका लक्षित बीमा योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा कम्तीमा ५० हजार देखी बढीमा ५० लाख रुपैयाँसम्मका लागि योजना खरिद गर्न सकिन्छ । १५ वर्षसम्मका बालबालिका यस योजनामा प्रवेश गर्न पाउने छन् ।

नेशनल लाईफ इन्स्योरेन्स
नेशनल लाइफ इन्योरेन्स कम्पनीले बालबालिकालाई लक्षित गरी बाल अमृत सावधिक जीवन बीमा बजारमा ल्याएको छ । कम्पनीले सञ्चालन गरेको बाल अमृत सावधिक जीवन बीमा योजना अनुसार भर्खर जन्मेको बच्चादेखि १५ वर्षसम्मको बच्चाका लागि यो बीमा गर्न सकिन्छ । तर, बिमा गरेको दुई वर्षपछि वा बिमितको ६ वर्ष उमेर पुगेपछि मात्र जोखिम प्रारम्भ हुनेछ । कम्तीमा ५० हजार र धेरैमा २५ लाखसम्मको बीमागर्न सकिनेछ । कम्पनीले केटाकेटी जीवन बीमा योजना पनि बिक्रि गर्दै आईरहेको छ । यस्तै कम्पनीले बालबालिका लक्षित बाल शिक्षा बीमा योजना बिक्रि गर्दै आएको छ । केटाकेटी बीमा योजना अनुसार भर्खर जन्मेका बालबालिका देखि ११ वर्षसम्मका लागि यो बीमा गर्न सकिन्छ । बीमा कम्तीमा पनि १ लाख र बढीमा ५० लाखसम्मको गर्न सकिन्छ । बीमित १९ वर्ष पुगेपछि बीमा परिपक्व हुन्छ । यस योजनामा कर्जा र दुर्घटना लाभ भने उपलब्ध छैन । बीमा शुल्क वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा पनि भुक्तानी गर्न सकिन्छ ।
बाल शिक्षा योजना अनुसार भर्खरै जन्मेको बच्चा देखि १८ वर्षसम्मको बालबालिको लागि यो जीवन बीमा खरिद उपयुक्त हुन्छ । यसका साथै यो योजनामा एकै बीमा लेखमा बच्चा तथा प्रस्तावक बाबु वा आमा दुई जनाको जीबन बीमा गर्न सकिन्छ ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन
लाईफ इन्स्योरेन्स कर्पोरेशनले बालबालिका लागि सावधिक जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । यस योजना अनुसार १ देखि १० वर्षसम्मका बालबालिकाको बीमा गर्न सकिन्छ । न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्मको बीमा गर्न सकिन्छ । यस बीमा योजनाको अर्को विशेषता बीमा गरिएको दुई वर्षपछि ऋण समेत लिन सकिन्छ । यस बीमा योजना अन्तर्गत ५० वर्ष उमेरसम्मको प्रस्तावकले अतिरिक्त प्रिमियम शुल्क भुक्तान गरी बिमा शुल्क मिनाहा लाभ लिन सक्छन् ।

एशियन लाईफ इन्स्योरेन्स
एशियन लाईफ इन्स्योरेन्सको बाल उमंग सावधिक जीवन बीमा, भविष्य सावधिक जीवन बीमा बालबालिका सम्बन्धी इन्डोमेन्ट र एस्योरेन्स पोलिसिको बिक्री गर्दै आएको छ ।

आईएमइ लाईफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइएमई बाल उज्जवल सावधिक बीमा योजना सञ्चालन गरेको छ । भर्खरै जन्मेदेखि अधिकतम १५ वर्षसम्मको बच्चाको लाीग यो बीमा योजना खरिद गर्न सकिनेछ । प्रस्तावकको उमेर न्युनतम १७ वर्ष र अधिकतम ६५ वर्ष निर्धारण गरिएको छ ।
न्युनतम बीमा अवधि १० वर्ष तोकिएको छ भने अधिकतम ३० वर्षसम्मको रहेको छ । बीमितको न्युनतम परिपक्वता उमेर १६ वर्ष तोकिएको छ भने अधिकतम परिपक्वता उमेर ३० वर्ष रहेको छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स
रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीले बालबालिकाका लागि रिलायबल उच्च शिक्षा जीवन बीमा नामक योजना बिक्रि गर्दै आएको छ । यस योजनाको अधिकतम १५ वर्षसम्म उमेर भएका बालबालिकका लागि खरिद गर्न सकिनेछ ।

भर्खर जम्मेको बालबालिकादेखि १५ वर्षसम्मका लागि यो योजना खरिद गर्न सकिनेछ । यस बीमा योजनामा सुरु भएको २ वर्षपछि वा बिमितको उमेर ६ वर्ष पुगेपछि मात्रै जोखिम सुरक्षा सुरु हुनेछ । बीमा रकम कम्तीमा ५० हजार र अधिकतम प्रस्तावको आयमा आधारित हुन्छ । अधिकतम बीमा अवधि २५ वर्ष र अधिकतम बीमा समाप्ति उमेर २५ वर्षको हुुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x