ट्रम्प–सी भेटअघि अमेरिका–चीन व्यापार फ्रेमवर्कमा प्रारम्भिक सहमति
काठमाडाैं, १० कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने बहुप्रतिक्षित भेटअघि, दुई देशले संभावित व्यापार सम्झौताको प्रारम्भिक फ्रेमवर्कमा सहमति गरेका छन्।
आइतबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न १३औं आसियान–अमेरिका सम्मेलनको साइडलाइनमा उच्च अधिकारीहरूबीच वार्ता भएको थियो। वार्तामा टिकटकको अमेरिकी सञ्चालन, चीनको दुर्लभ खनिज निर्यात नियन्त्रण स्थगन, र आयात शुल्क समायोजनका विषयहरू प्राथमिकतामा रहेका थिए।
फ्रेमवर्क अनुसार, ट्रम्प प्रशासनले चीनमाथि प्रस्ताव गरेको १०० प्रतिशत आयात शुल्क लागू नगर्न सक्ने सम्भावना रहेको छ। साथै, चीनले अमेरिकाबाट ठूलो मात्रामा सोयाबिन खरिद पुनः सुरु गर्ने संकेत दिएको छ।
दुबै देशले विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्धलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउने प्रयास गरिरहेका छन्। ट्रम्प र सीबीच यो भेट बिहीबार दक्षिण कोरियामा हुने तय भएको छ।
व्यापार युद्धको पृष्ठभूमिमा, ट्रम्पले दोस्रो कार्यकालमा अमेरिकी उद्योग र रोजगारीलाई प्राथमिकता दिँदै विदेशी आयातमा उच्च शुल्क लागू गरेका थिए। चीनले पनि निर्यात नियन्त्रण र प्रतिवन्ध जस्ता कदम चालेको थियो। यसै महिनाको सुरुमा चीनले दुर्लभ खनिज निर्यात नियन्त्रण कडा गरेपछि ट्रम्पले १०० प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए।
हाल चीनले दुर्लभ खनिज प्रतिबन्ध एक वर्षका लागि स्थगित गरेको छ। यी खनिजहरू स्मार्टफोन, सौर्य प्यानल लगायतका हजारौँ उपकरण उत्पादनका लागि अत्यावश्यक मानिन्छन्।
व्यापार सम्बन्धमा अर्को मुख्य मुद्दा सोयाबिन हो। चीन विश्वको सबैभन्दा ठूलो सोयाबिन आयातकर्ता हो। प्रारम्भिक सहमतिपछि चीनले अमेरिकी सोयाबिन पुनः खरिद गर्ने संकेत दिँदा अमेरिकी कृषकहरू राहत पाउने अपेक्षा गरिएको छ।
टिकटक सम्झौता पनि अन्तिम चरणमा पुगेको छ। अमेरिकाले बाइटडान्सबाट टिकटकको अमेरिकी सञ्चालन अधिकार अलग गर्ने तयारीमा रहेको छ। ह्वाइट हाउसले अमेरिकी कम्पनीहरूले टिकटकको एल्गोरिदम नियन्त्रण गर्ने र सात सदस्यीय बोर्डमध्ये छ जना अमेरिकी हुने व्यवस्था लागू गर्ने घोषणा गरेको थियो।
यो प्रारम्भिक फ्रेमवर्क सहमति विश्व अर्थतन्त्रका लागि आशाजनक संकेत मानिएको छ। यदि बिहीबारको भेटमा औपचारिक सहमति भए, लामो समयदेखि तन्किँदै आएको व्यापार युद्धमा नयाँ शान्तिपूर्ण मोड आउने अपेक्षा गरिएको छ।



