Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बजारमा तरकारीको मूल्य हालसम्मकै उच्च, गरिब र न्यून आय भएकाहरुलाई जीवन चलाउनै मुश्किल

झरना कँडेल

काठमाडौं, ११ मंसिर । पछिल्ला केही महिना यता तरकारीको मूल्य आकासिएको छ । दैनिक उपभोग्य तरकारीको मूल्य अत्याधिक वृद्धिभएसँगै उपभोक्ताको भान्छा पनि महंगिदै गएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार भारतमा भएको वर्षातका कारण पछिल्ला महिनाहरुमा तरकारीको मूल्यमा वृद्धि भएको हो ।

तरकारी प्लान्टेसन गर्ने समयमा अत्याधिक बर्षात भएका कारण तरकारी उत्पादनमा कमी आएको र तरकारीको मूल्य बढेको समितिका बरिष्ठ बजार सञ्चालन अधिकृत मनोज धितालले बताए । कालिमाटी तरकारी बजारमा दैनिक ८ सय मेट्रिक टन तरकारी आयात हुँदै आएकोमा यसपटक वर्षातका कारण उत्पादनमा कमी भएको र आयात घटेर ७ सय मेट्रिक टनको हाराहारीमा पुगेको धितालले जानकारी दिए ।

समितिको तथ्याङ्क अनुसार एक महिनामा प्याजको मूल्य ११६.६७ प्रतिशतले वृद्धि भएको छ । गत महिनाको ११ गते सुकेको प्याजको थोक मूल्य प्रतिकेली ८४ रुपैयाँ थियो तर आज सुकेको प्याजको मूल्य प्रतिकिलो एक सय ८२ रुपैयाँ पुगेको छ । हिजो भने प्याजको मूल्य प्रतिकेजी एक सय ९२ रुपैयाँ पुगेको थियो । छोटो समयमा मूल्य बढेको सुकेको प्याजको खुद्रा पसलहरुका २ सय २० देखि २ सय ३० रुपैयाँसम्म कारोबार भइरहेको उपभोक्ताहरुले गुनासो छ । भारतबाट आयातित प्याजमा मूल्य बढ्दा नेपाली बजारमा पनि सोही अनुपातमा मूल्य वृद्धि हुने गरेको छ । गत वर्षको यही समयमा सुकेको प्याज कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३९ रूपैयाँमा पाइएको थियो ।

त्यस्तै काउलीको मूल्य अहिले ११० देखि १२० रूपैयाँ छ । अन्य तरकारीहरु मटरकोसा, घिउ सीमी, हरीयो फर्सी , भारतिय रातो आलु कागती लगायतको मूल्य पनि बढेको छ । कुनै समयमा किसानहरुले उत्पादन गरेका तरकारी खेतमै कुहाउनु परेको भएपनि यसपटक थोरै मात्रामा उत्पादन गरेकाले निकै कम मात्रामा आयात भएको व्यवसायी बताउँछन् । उनीहरुका अनुसार तरकारीको यो मूल्य हालसम्मकै उच्च हो ।

लामो समयदेखि कालीमाटीमा भारतीय तरकारी नै बढी बिक्री भइरहेको व्यवसायीहरु बताउँछन् । कालीमाटी तरकारी बजारमा दैनिक स्थानीय र भारतीय बजारबाट तरकारी आउने गर्छ । तर, स्थानीय उत्पादन निकै कम परिमाणमा आउँदा बजारको माग आयातित तरकारीले धानेको छ ।

यसरी तरकारीको मूल्य दिनप्रतिदिन बढ्दै जादा उपभोक्ता मारमा परेका छन् । सबै कुरामा महंगी खेपीरहेको बेला तरकारीको भाउ बढ्नाले गरिब र निम्न आय भएकाहरुको दैनिकी कष्टप्रद भएको छ । सरकारले नै तोकेको श्रमिकहरुको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ हो । पछिल्लो समय भएको मूल्य बृद्धि र सो रकमले दुईछाक टार्नै मुश्किल परेको उनीहरुको गुनासो छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x