बैंकास्योरेन्सको नाममा रोकिएनन् भ्रामक विज्ञापन, बीमा समितिलाई चुनौति
काठमाडौं, १३ मंसिर । अघिल्लो वर्ष बीमा समितिले १३ वटा नयाँ बीमा कम्पनीलाई लाईसेन्स वितरण गर्याे । नेपालमा बीमाको पहुँच ५ प्रतिशत मात्रै पुगेको भन्दै बीमा समितिले अध्ययन बिना नै बीमा कम्पनीहरुलाई लाईसेन्स वितरण देखिन्छ ।
नयाँ कम्पनीहरुले नयाँ बीमा योजना र नयाँ शाखासहित बीमा व्यवसायको सुरुवात गरे । योसँगै कम्पनीहरुले बैंकास्योरेन्स व्यवसायको पनि सुरुवात गरे । नयाँ कम्पनीसँगै पुरानो कम्पनीहरुले पनि बैंकास्योरेन्स व्यवसायको सुरुवात गरे । प्रतिस्पर्धाका कारण प्रत्येक दिन कम्पनीहरुले एउटा न एउटा बैंकसँग बैंकास्योरेन्स सम्झौता गर्न थाले । नेपालमा बैंकास्योरेन्स सम्बन्धी नीतिगत व्यवस्था नभएको अवस्थामा बीमा समितिको प्रश्रयमा बैंक तथा बीमा कम्पनीले बैंकास्योरेन्स व्यवसाय गरे ।
बैंकहरुले संस्थागत अभिकर्ताको रुपमा काम गरे पनि बैंकासुरेन्सको प्रचार प्रसारलाई अझ तिब्रता दिए । बीमा समितिले पनि बैंकले बीमा गर्दा पहुँच छिटो बढ्ने भन्दै बैंकहरुलाई प्रोत्साहन दिँदै गयो । फलस्वरुप अहिले बैंकहरुले निःशुल्क बीमा गरिदिने भन्दै भ्रामक विज्ञापन गरिरहेका छन् ।
कानुनी रुपमा नेपालमा बैंकास्योरेन्स व्यवसाय गर्न पाईंदैन भने बीमा समितिबाट अनुमती नलिएका संस्थाले बीमा योजना विक्री वितरण गर्नै पाउँदैन ।
बीमाको नाममा बढ्दै गएको विकृतीलाई रोक्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुले बीमा योजना विक्री गर्न नपाउँने व्यवस्था गरिदियो । तर, अझै पनि बैंकहरुले निःशुल्क बीमा गर्ने विज्ञापनहरु दिईरहेका छन् ।
बढ्दै गएको विकृतिलाई रोक्न अन्तत बीमा समितिले अध्ययन गर्ने भएको छ । समितिका अनुसार अध्ययनका लागि समितिले दुई वटा छुटाछुटटै अध्ययन समितिले गठन पनि गरेको छ । जीवन बीमा बारेमा अध्ययन गर्न बीमा विज्ञ भोजराज शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ भने निर्जीवन बीमाको बारेमा अध्ययन गर्न समितिका कार्यकारी निर्देशक राजुरमणको संयोजकत्वमा समिति गठन गरिएको छ ।