Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

सुरु भयो ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्ष्य पूरा गर्न पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय प्रचारमा जोड

सुरु भयो ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्ष्य पूरा गर्न पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय प्रचारमा जोड

काठमाडौं १६ पुस । आजबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएको छ। विश्व बजारमा नेपाललाई आकर्षक, सुरक्षित र मनोरम गन्तव्यको रूपमा स्थापित गर्न सरकारले गतआर्थिक वर्षको बजेट मार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको थियो ।

भ्रमण वर्षको औपचारिक उद्घाटन भने आज अपराह्न गरिदै छ ।

भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारी तथ्यांक अनुसार सन् २०१८ मा करिब १२ लाख पर्यटक नेपाल आएका छन् । सन् २०२० मा लक्ष्य भेट्टाउन त्यो भन्दा ८ लाख बढी पर्यटक ल्याउनुपर्ने छ । तर उक्त लक्ष्य भेट्टाउन त्यती सहज नभएको व्यवसायीहरु बताउछन् ।

लक्ष्य भेट्टाउन अन्तर्राष्ट्रिय प्रचार–प्रसारलाई तीब्र पार्नुपर्ने पर्यटन व्यवसायी बसन्त मिश्रको सुझाव छ । ‘स्वदेशमा हुने सभा, सम्मेलनले आन्तरिक रुपमा पर्यटनबारे सचेतना बढाउछ । त्यो राम्रो हो,’ उनले भने, ‘तर लक्ष्य भेट्टाउन अन्तर्राष्ट्रिय प्रचारलाई व्यापक बनाउनुपर्छ ।’ अहिले अन्तर्राष्ट्रिय प्रचारको कामले व्यापकता नपाएको उनको बुझाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयका सचिव केदारबहादुर अधिकारी भने लक्ष्य भेट्टाउने गरि आवश्यक काम भइरहेको बताउछन् । ‘नर्मल ग्रोथको आधारमा पनि सन् २०२० मा १६–१७ लाख पर्यटक नेपाल आउछन्,’ उनले भने, ‘लक्ष्य भेट्टाउन ३–४ लाख बढी संख्या आवश्यक पर्छ । त्यसैका लागि हामी प्रयासरत छौ ।’

नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रचारको काम गरिरहेको जनाएको छ। अन्तर्राष्ट्रिय प्रचारकै लागि भनेर आज हुने उद्घाटन समारोहमा पनि ३५ देशमा संचारकर्मीहरुलाई आमन्त्रण गरिएको जानकारी दिईएको छ।

सबै मिलेर लाग्दा लक्ष्य त्यती टाढा नभएको तर्क टानका अध्यक्ष खुमबहादुर सुबेदीको छ। नेपालमा अथाह पर्यटनको सम्भावना रहेको भन्दै उनले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरे लक्ष्य भन्दा दोब्बर पर्यटक भित्र्ने बताए । पर्यटकीय पूर्वाधार निर्माणमा भने तीब्रता दिनुपर्ने उनको सुझाव छ ।

सन् २०२० मा पर्यटकलाई नेपाल आउन आकर्षित गर्न टानका सदस्यहरुले भ्रमण प्याकेजमा २० प्रतिशत छुट दिने उनले जानकारी दिए ।

त्यस्तै होटल संघ नेपालले पनि होटल बुकिङमा ३० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ।

यसअघि सरकारले सन् १९९८ र सन् २०११ मा पनि नेपाल भ्रमण वर्ष मनाएको थियो । सन् १९९८ मा ५ लाख र सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर दुबै वर्ष लक्ष्य अनुसार पर्यटक भित्रिएका थिएनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x