गौतम बुद्ध बिमानस्थलको बिषयमा छलफल गर्न म्युनिखलाई बोलाईयो
काठमाडौं, २२ पुस । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनको जिम्माका बिषयमा छलफल गर्न जर्मनको म्युनिख कम्पनीलाई बोलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सञ्चालनको जिम्मा जर्मनीको ‘म्युनिख’ विमानस्थललाई दिने गरी छलफलका बोलाएको हो ।
प्राधिकरणका अनुसार नेपाल सरकार– जर्मन सरकार मार्फत् गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा ‘म्युनिखलाई दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कम्पनीसँगको छलफलपछि मन्त्रालयले मन्त्रिपरिषद्बाट नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनको लागि पहिलो चरणमा ३ वर्षको समय तोकेर म्युनिखलाई जिम्मा दिने तयारी गरेको छ ।
विमानस्थलमा अध्यागमन र सुरक्षाबाहेकको जिम्मा म्युनिखले पाउनेछ। त्यसमा सञ्चालन, व्यवस्थापन र वित्तीय व्यवस्थापनको जिम्मा पर्नेछ। दुईपक्षीय छलफलमा राजस्व बाँडफाँट र शुल्कको विषयमा सहमति खोजिने छ । विमानस्थल निर्माणको लागि चिनियाँ कम्पनीसँग सन् २०१४ मा सम्झौता भएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । सन् २०१८ सम्ममा सञ्चालनमा ल्याउने भनिए पनि सन् २०२० भित्र विमानस्थल सञ्चालनमा आउने अवस्थमा पुगेको छ।