चालु आवको पाँच महिनामा ५ बैकले बिक्री गरे ऋणपत्र
काठमाडौ, २६पुस । चालू आर्थिक वर्षमा पाँच बैंकले दीर्घकालीन ऋणपत्र बिक्री गरेका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका सात वटा बैंक तथा वित्तीय संस्थाको आवेदन दिएका थिए । न्यूनतम १० दशमलव २५ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याज पाइने भएकाले दीर्घकालीन ऋणपत्रमा लगानीकर्ताको आकर्षण पनि बढिरहेको छ।
सिद्धार्थ बैंकको सातवर्षे १०.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०८३ ले गत साउन १४ गते स्वीकृति पाएको थियो। सो बैंकले १ हजार मूल्य बराबरका २५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति लिएको थियो। बैंकले कूल २ अर्ब ५० करोड रुपैयाँ बराबरका ऋणपत्र बिक्री गरेको हो। लक्ष्मी बैंकले १० वर्षे अवधिका लागि लक्ष्मी बैंक डिबेञ्चर २०८६ बिक्रीका लागि गत भदौ १७ गते अनुमति लिएको थियो। बैंकले प्रतिकित्ता १ हजार बराबरका कूल २० लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति लिएको थियो। बैंकले २ अर्ब बराबरका ऋणपत्र बिक्रीका लागि अनुमति लिएको हो। प्रभु बैंकले १० वर्षे अवधिका लागि नै १ अर्ब बराबरका १० लाख कित्ता, सनराइज बैंकले प्रतिकित्ता १ हजार बराबरका कूल ३ अर्ब र कुमारी बैंकका ३० लाख कित्ता ३ अर्बका बिक्रीका लागि अनुमति लिएको हो। अनमुति लिएकामध्ये केहीले ऋणपत्र बिक्री गरिसकेका छन् भने केही प्रक्रियामै रहेका छन्। यस्तै बोर्डका अनुसार कूल ८ अर्ब ९५ करोड बराबरका ऋणपत्र स्वीकृतिको चरणमा रहेका छन्।
नेपाल राष्ट्र बैंकले आव २०७५/७६ को वार्षिक मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन गर्न प्रोत्साहन गर्ने नीति लिएको थियो। बैंकले त्यसरी सङ्कलित साधनलाई कर्जा र कूल वित्तीय स्रोत अनुपात गणना गर्दा समावेश गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको थियो।