नेप्से परिसूचक १३०५.८८ विन्दुमा, कारोबार १ अर्बमाथि
काठमाडौं, १५ माघ । साताको चौथो कारोबार दिन बुधबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगाता बढेको नेप्से परिसूचक आज ०.२७ अंक घटेर १३०५.८८ विन्दुमा रोकिएको हो । परिसूचकमा झिनो अंक घटेसँगै कारोबार रकममा पनि ११ करोड रुपैयाँ कमी आएको छ ।
१ सय ७६ कम्पनीको २८ लाख ७८ हजार ४ सय ५२ कित्ता सेयर १ अर्ब २९ करोड ३७ लाख रुपैयाँको खरिद–विक्री भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार नाडेप लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त वित्तीय संस्थाको ६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै शिखर इन्स्योरेन्सको पनि ६ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सर्वाधिक परिसूचक बढ्नेमा माइक्रोफाइनान्स समूह रहेको छ । यो समूहको ४.३४ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो । कारोबारमा आएका १२ समूहमध्ये ४ समूहको परिसूचकमा वृद्धि भएको छ । परिसूचक वृद्धि हुनेमा उद्योग समूह २.०८ प्रतिशत, होटेल समूह ०.८१ प्रतिशत, निर्जीवन बीमा समूह १.७४ प्रतिशत र माइक्रोफाइनान्स समूह ४.३४ प्रतिशत रहेका छन् ।