सामाजिक सञ्जालमा विज्ञापन गैरकानुनीः राष्ट्र बैंक
काठमाडौं, १८ माघ। फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापन गैरकानुनी भएको राष्ट्र बैंक जनाएको छ ।
यस्तो विज्ञापन गरेको पाइएमा राष्ट्र बैंकले विदेशी मुद्रा अपचलनको आरोपमा कारबाही गर्ने भएको छ।
पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य ब्यवसायिक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै आएका थिए। यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्दैन। राष्ट्र बैंकले सटही सुविधा नदिइ विदेशी संस्थालाई भुक्तानी गर्नु गैरकानुनी हो। त्यसैले यस्तो विज्ञापन गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको हो।
इन्टरनेटमार्फत गरिने विज्ञापन बापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको राष्ट्र बैंकले प्रष्ट पारेको छ ।
कर्पोरेट संस्था, बैंक तथा वित्तीय संस्था र अन्य निकायले आँफैले बाहिरबाट वा नेपालमै रहेका विज्ञापन एजेन्सीमार्फत सामाजिक सन्जाललमा महँगो शुल्क तिरेर विज्ञापन गर्दै आएका थिए। विज्ञापन एजेन्सीहरुले विज्ञापनदातासँग मूल्य अभिबृद्धि करसमेत जोडेर पैसा लिने र आफूले भने बाहिरबाट नेपाल आउने पैसा उतै रोकेर विज्ञापन गरिदिँदै आएका थिए। विप्रेषण घट्नुको मुख्य कारण यसरी विदेशमै पैसा पार्क हुनुलाई पनि एउटा कारण मानिएको छ ।