Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पर्यटन क्षेत्रमा काम गर्ने जनशक्ति दक्षभन्दा अनुभवी

पर्यटन क्षेत्रमा काम गर्ने जनशक्ति दक्षभन्दा अनुभवी

झरना कँडेल
काठमाडौं, २० माघ । सरकारले २० लाख पर्यटक भित्रयाउने महत्वकांक्षी लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा घोषणा गरेको छ । जनवरी १ तारिखमा विभिन्न तामझामका साथ सुरु भएको पर्यटन बर्ष सफल हुनेमा भने स्वयं पर्यटन व्यवसायी भने विश्वस्त छैनन् । नेपालमा पर्यटन व्यवसायको सम्भावना बढ्दै गए पनि दक्ष जनशक्तिको अभावका कारण नेपालको पर्यटन व्यवसाय अपेक्षित रुपमा बृद्धि हुन नसकेको पर्यटन व्यवसायीहरुको गुनासो छ ।

नेपाल ट्रेकिङ, रयाफटिङ्ग, बन्जी, कायकिङ्ग लगायतका साहसिक खेलका लागि विश्वमा प्रख्यात छ । तर, यस्ता गतिविधिका लागि भने नेपालमा पर्याप्त मात्रामा पर्यटक गाईडहरुको अभाव छ । त्यति मात्रै हैन होटलहरुमा नै दक्ष कर्मचारीहरुको अभाव रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले बताए । ‘नाथमले पर्यटन व्यवसायका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विभिन्न खालका तालिम पनि प्रदान गर्दै आएको छ । तर, धेरै मानिसलाई नाथमको बिषयमा जानकारी छैन,’ उनले भने । तालिम लिएका पनि नेपालमा भन्दा विदेशमा नै जाने गरेको उनले बताए ।

अनुभवको आधारमा काम हुन्छ पर्यटन क्षेत्रमा
नेपालको पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीहरुले अनुभवको आधारमा मात्रै काम गर्ने गरेको नाथमका कार्यकारी निर्देशक ढकालले बताए । उनका अनुसार उनीहरुसँग व्यवसायिक ज्ञान छैन तर, अनुभव भने छ । सोही अनुभवको आधारमा काम गर्ने गरेको उनले बताए । तर, सबै अवस्थामा अनुभव मात्रै पर्याप्त नहुने उनको दाबी छ । सैद्धान्तिक ज्ञान नभएसम्म पर्यटकलाई राम्रो सेवा सुविधा दिन नसकिने उनले बताए ।

नाथमद्धारा ५० हजार प्रशिक्षित
नाथमले हालसम्म ५० हजार ४ सय २३ दक्ष जनशक्ति उत्पादन गरेको ढकालले बताए । जसमध्ये १५ हजार एकेडेमिक कोर्स गरिसकेका छन् भने ३५ हजार ४ सय तालिम लिएका छन् ।
नाथमले पर्यटन सम्बन्धी दुई प्रकारका कोर्स उपलब्ध गराउँदै आएको छ । इच्छुक व्यक्तिले नाथमबाट पर्यटन सम्बन्धी एकेडेमिक र प्रयोगात्मक कोर्स अध्ययन गर्न सक्छन् । एकेडेमिक कोर्स अध्ययन गर्न चाहने व्यक्तिले २ वर्ष सैद्धान्तिक अध्ययन गर्नुपर्छ । त्यसपछि १ वर्ष प्रयोगत्मक अभ्यास पुरा गर्नुपर्छ । त्यसपछि १ वर्ष इन्र्टनसीप गरेपछि ६ महिना पुनः कलेजमा पुगेर प्रयोगत्मक अभ्यास गर्नुपर्छ । प्रशिक्षणको कोर्स भने १५ दिनेदेखि ६ महिनासम्मको हुन्छ ।
नाथमले होटल म्यानेजमेन्ट र टुरिजम म्यानेजमेन्ट सम्बन्धी दुई बिषयमा शैक्षिक कार्यक्रम तथा तालिमको प्याकेज सञ्चालन गरेको उनले बताए । जसमा होटल म्यानेजमेन्टमा होटल सम्वन्धी सबै अध्यापन र तालिम प्रदान गरिन्छ भने टुरिजम म्यानेजमेन्टमा टुरिस्ट गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड लगायत सबै बिषयको अध्यापन तथा तालिम प्रदान गरिन्छ ।
नाथमले यो वर्ष १२ हजारलाई पर्यटन सम्बन्धी तालिम र १२ हजार जनालाई शैक्षिक अध्यापन गराईने लक्ष्य लिएको छ ।

नाथमलाई विश्वविद्यालयमा रुपान्तरण गरिने
नाथमलाई विश्वविद्यालयको रुपमा रुपान्तरण गरिने भएको छ । विश्वविद्यालयमा रुपान्तरण गर्नका लागि भने कानुनको अभाव भएको नाथमका कार्यकारी निर्देशक ढकालले बताए । कानुनी व्यवस्था भएको खण्डमा नाथमलाई सातै प्रदेशमा शाखाका रुपमा विस्तार गर्न सकिने उनले दाबी गरे ।

आफनै लगानीमा ४ तारे होटल खोल्दै नाथम
नाथमले आफ्नै लगानीमा चार तारे होटल खोल्ने भएको छ । नाथमका कार्यकारी निर्देशक ढकालका अनुसार निकट भविष्यमा नै होटल खोल्ने योजना रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x