चुलियो लसुनको मूल्य, किलोको ६ सय ३५ पुग्यो
काठमाडौं, २३ माघ । कोरोना भाईरसका कारण चीनबाट आयात रोकिएसँगै लसुनको मूल्य चुलिएको छ । कालिमाटी तरकारी बजारका अनुसार बुधबार लसुनको मूल्य प्रति केजी ६ सय ३५ रुपैयाँ पुगेको छ । एक महिनाअघि लसुनको बजार मूल्य प्रति केजी २ सय ४५ रुपैयाँ थियो ।
कोरोना भाइरसको संक्रमण बढेपछि चीनवाट आयात रोकिँदा लसुनको भाउ बढेको कालिमाटीका व्यवसायीहरु बताउछन् । भाइरसका कारण आयात बन्द भएसँगै व्यापारीले बजारमा लसुनको अभाव भएपछि यसअघि नै ल्याएको लसुनको भाउ बढाएरु विक्री गर्न थालेका हुन् । अहिले आयात ठप्प रहेको र गोदाममा भण्डारण गरिएको लसुन पनि सकिएको व्यावसायी बताउछन् । भारतबाट आयात गरिएको लसुनमा सर्वसाधारणको चासो नभएको समेत व्यावसायी बताउछन् ।
नेपालमा बर्सेनी करोडौँ रुपैयाँको सुकेको लसुन चीनबाट आयात हुने गरेको छ । मुलुक नै परनिर्भरता तर्फ धकेलिए पछि अन्य स्थानबाट आयात हुने सामानमा मंहगी बढ्नु स्वभाविक रहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका बरिष्ठ कानुन अधिकृत एकनारायण आर्यल बताउछन् । नेपाल कृषिप्रधान देश भनिए पनि, तरकारी नै अन्य देशबाट आयात गर्नुपर्नेमा आम नागरिक नै जिम्मेवार रहेको उनले बताए । उनले हरेक नेपालीले आफ्नो परिवारका लागि तरकारी आफैले उत्पादन गर्ने क्षमता राखे यस्तो अवस्था नै सृजना नहुने बताए ।