Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

को बन्ला आगामी गभर्नर

को बन्ला आगामी गभर्नर

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकको १७औं गभर्नरका लागि आकांक्षीहरुको दौडधूप शुरु भएको छ । सरकारले गभर्नर नियुक्तिका लागि प्रक्रिया अघि बढाउन समय भने घर्किसकेको छ । गभर्नर डा. चिरञ्जीवि नेपाल चैत ७ देखि सेवा निवृत्त हुँदैछन् । सरकारले करिब एक महिनाअघि गभर्नर नियुक्त गर्नुपर्ने भएपनि सो हुन सकेको छैन । सरकारले गभर्नर नियुक्त गरेको भए वर्तमान गभर्नर एक महिनाघि बिदा बसिसकेका हुन्थे । तर गभर्नरको कार्यकाल सकिएपछिमात्र सरकारले नियुक्ति प्रक्रिया अघि बढाउने बुझिएको छ । अर्थमन्त्रीले एक जना डेपुटी गभर्नरसहित ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्नुपर्नेछ । सोही अनुसार गभर्नरको नियुक्ति हुनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभाको कार्यकाल फागुन २० बाट समाप्त हुँदैछ । राष्ट्रियसभामा उनी दोहोरिने या नदोहोरिने निश्चित भैसकेको छैन । डा. चिरञ्जीवी नेपालको गभर्नर नियुक्तिमा सिफारिश गर्न तत्कालीन अर्थमन्त्री डा. रामशरण महत तयार थिएनन् । यद्यपि उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा नेपालको नाम सिफारिश गरेका थिए । अहिलेका गभर्नरका प्रबल दाबेदार नेपाल राष्ट्र बैंककै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी हुन् । प्रधानमन्त्रीसँग निकट सम्बन्ध भएका सिवाकोटीका सम्बन्धमा अर्थमन्त्री खतिवडा भने सकारात्मक छैनन् । तर उनी एकजना डेपुटी गभर्नर सिफारिश गर्नैपर्ने बाध्यतामा छन् । जसका कारण सिवाकोटी गभर्नरका प्रबल दाबेदार हुन् । उनले गत साता प्रधानमन्त्रीबाट आफ्नो पुस्तक र ‘संवृद्ध नेपाल, सुखी नेपाली’ गीत विमोचन गराएर आफ्नो सम्बन्ध प्रस्तुत गरेका छन् । विमोचन कार्यक्रममा अर्थमन्त्री उपस्थित नहुनुले उनी सिवाकोटीप्रति सकारात्मक नरहेको बुझिन्छ । तर गभर्नर पद राजनीतिक नियुक्ति भएकाले अर्थमन्त्री भन्दा पनि प्रधानमन्त्री बढी निर्णायक हुन्छन् ।

सिवाकोटीसँगै गभर्नरका दाबेदारी प्रस्तुत गरिरहेका छन्– राष्ट्र बैंककै हालका सञ्चालक डा. सुबोध कुमार कर्ण र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले । पाटन संयुक्त क्याम्पसका प्राध्यापक कर्ण चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनी राष्ट्र बैंकका सञ्चालक समितिमा रहेर काम गरेको अनुभव छ । पूर्व एमालेसँग उनको निकटताका आधारमा उनी सिफारिशमा पर्ने देखिन्छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको लामो समयदेखि बैंकिङ करिअरमा अनुभव छ । उनी अहिले नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्ष पनि भएका छन् ।

यसअघि पूर्व अर्थसचिव राजन खनाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठको पनि भावी गभर्नरको रुपमा चर्चा थियो । यी मध्ये श्रेष्ठ गभर्नरका प्रबल दाबेदार हुन् । पूर्व माओवादी निकट श्रेष्ठको नाम गभर्नर हुने सुनिश्चित नभइ सिफारिश हुनेछैन । खनाल र अधिकारीको नाम सिफारिशमै नपर्ने बुझिएको छ । नेपाल लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी पनि गभर्नरका आकांक्षी हुन् । प्रधानमन्त्रीसँग उनको निकट सम्बन्ध नरहेको र अर्थमन्त्री खतिवडासँग पनि पछिल्लो दिनमा विगतमा जस्तो सुमधुर सम्बन्ध नरहेकाले उनलाई अर्थमन्त्रीले सिफारिश गर्नेछैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x