नेपालमा लगानी बढाउन आन्तरिक एवं बाह्य लगानीकर्तालाई अर्थमन्त्री खतिवडाको आग्रह
काठमाडौं, १२ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक एवं बाह्य लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको भन्दै यस्तो आग्रह गरेका हुन ।
नेपाल विकास र समृद्धिको बाटोमा अघि बढ्न चाहेको र त्यसका आन्तरिक लगानी मात्र पर्याप्त नहुने भन्दै मन्त्री खतिवडाले बाह्य लगानी भित्र्याउनमा जोड दिए ।
विश्व बैंकले यसै वर्ष प्रकाशन गरेको डुइङ बिजनेश रिर्पोटमा नेपालले १६ स्थान सुधार गरेको भन्दै थप सुधारका कामहरु गरिरहेको उनले जानकारी दिए । मन्त्री खतिवडाले सहज लगानीका लागि सरकारले ऐन, कानुन संशोधन गरेर प्रोत्साहन गर्ने बताए ।
मुलुकको आर्थिक समृद्धिका लागि नीजि क्षेत्रको ठुलो योगदान रहेको उल्लेख गर्दै सार्वजनिक, निजी साझेदारीलाई सरकारले विशेष जोड दिएको बताए ।
त्यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा लगानीको लागि ठुलो सम्भावना रहेको बताए । लामो समयपछि नेपालमा स्थिर सरकार बनेकाले अहिले लगानीका लागि उत्साहप्रद्ध समय रहेको बताए । उनले व्यवसायीक सहजताका लागि सरकारले समय अनुकुल नीतिगत सुधार गर्दै जानुपर्ने भने जोड दिए ।
विश्व बैंकका नेपाल कार्यालयका व्यवस्थापक फारिस एच हदाद जर्भोसले सरकारले लगानी प्रवद्र्धनका लागि नीजिगत सहजतासँगै निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।