सेयर कारोबार अवधि बढाएपनि बजारमा खासै उत्साह देखिएन
काठमाडौं, २ चैत । आइतबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ६४.१४ अंकले घटेर १३१३.०४ विन्दुमा झरेको छ ।
कारोबारमा आएका १२ समूहको उपसूचक मध्ये सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ६२१.८८ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहमा पनि ४१६.७३ अंकको गिरावट आएको छ ।
कारोबार १७४ कम्पनीको २ अर्ब १० करोड रुपैयाँ बराबरको मात्र भएको छ। आइतबार देखि सेयर कारोबारमा १ घण्टा समयावधि थप गरिएको छ। ११ बजेदेखि ३ बजेसम्म ४ घण्टा कारोबार हुँदै आएकोमा आइतबार ११ बजे देखि ४ बजेसम्म कारोबार भएको छ ।
लगानीकर्ताहरुको सहजताका लागि भन्दै समय थप गरेपनि पहिलो दिन बजारमा खासै उत्साह देखिएन । कोरोनाले विश्व आतंकित भएको बेला कारोबार अवधि बढाएकाले त्यसको प्रभावकारिता खासै नदेखिएको टिप्पणी गरिएको छ।
तर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने बजारमा परिक्षणका रुपमा समय थप गरेकाले आगामी दिनमा त्यसको प्रभावकारिता हेरेर करोबार समय थप बढाउदै लैजाने बताए ।