उद्योग सञ्चालनको वातावरण बनाउन महासंघलाई उद्योगीको अपिल
विराटनगर, २५ चैत । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उद्योग सञ्चालन र बचाउका लागि नेपाल उद्योग वाणिज्य महासंघलाई १३ बुँदे सुझाव दिँदै कार्यान्वयनका लागि आग्रह समेत गरेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएर उत्पन्न विषम परिवेशमा उद्योग रुग्ण हुन नदिन र बचाउन सरकारसँग पहलका लागि उद्योगी व्यवसायीले महासंघलाई आग्रह गरेका हुन् ।
सुझावपत्रमा बैंकहरूको ब्याज अधिकतम ५ प्रतिशत मात्र गणना, बीमा कम्पनीले ६ महीनाको प्रिमियम नलिने व्यवस्थाका लागि पहल, विद्युत्को डिमान्ड शुल्कको मिनाहा र विद्युत् प्राधिकरणले मुनाफा रहित बिलिङ गरी महशुलमा २० प्रतिशत छूटको व्यवस्था, स्थानीय तहले लिँदै आएको कर शतप्रतिशत छूट र बक्यौता रकम एक पटकका लागि जरीवाना मिनाहाका लागि सरकारसमक्ष पहल गर्न महासंघसँग आग्रह गरिएको छ ।
त्यसैगरी लामो समय लकडाउन हुँदा बजारमा वस्तुहरूको आपूर्तिमा आउने असन्तुलन सहज बनाउन भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने कच्चापदार्थका साथै दैनिक उपभोग्य वस्तु सहज पैठारीको वातावरण बनाउन परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल थाल्न महासंघलाई अपील गरिएको छ । यस्तै लकडाउनको कारण भन्सार विन्दु र बन्दरगाहमा फसेका मालवस्तुमा लाग्ने डिटेन्सन र ड्यामरेज शुल्क मिनाहाका लागि कूटनीतिक पहलका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग अविलम्ब अनुरोध गर्न उद्योगीले सुझाएका छन् ।
दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगहरू निरन्तर सञ्चालनमा ल्याउन सरकारी निकाय र सरकारबीच तालमेल र समन्वय नभएकाले आगामी दिनमा दैनिक उपभोग्य वस्तुको माग र आपूर्तिमा ठूलो असन्तुलन आउन सक्ने भन्दै संघीय सरकारबाट स्पष्ट नीति तर्जुमा गरी सबै तहमा कार्यान्वयनमा ल्याउन अविलम्ब पहलका लागि महासंघले महत्वपूर्ण भूमिका निर्वाह गनुृपर्नेमा जोड दिइएको छ ।
राजस्व, रोजगारी र वैदेशिक मुद्रा आर्जन गरी देशको आर्थिक विकासमा सहयोग पु¥याउँदै आएका उद्योगी व्यवसायीको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै यस क्षेत्रलाई रुग्ण हुनबाट जोगाउन नेपाल सरकारमार्फत प्याकेजमा राहत कार्यक्रमका लागि पहल थाल्न पनि भनिएको छ ।
उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संयुक्त रूपमा हस्ताक्षर गरिएको सुझावपत्रमा उद्योग व्यवसाय सरकारले तोकेको मापदण्डभित्र सञ्चालनकोे अनुमति भए पनि स्थानीय स्तरमा श्रमिकको आवतजावत, कच्चापदार्थ तथा उत्पादित वस्तुको ढुवानीमा स्थानीय प्रहरी र प्रशासनको समन्वयको अभावले विभिन्न समस्या सृर्जना भइरहेको उल्लेख छ । यसको समाधानका लागि आपसी समन्वयको वातावरण तयार गर्न नेपाल सरकारसमक्ष तत्काल पहल थाल्न महासंघलाई अनुरोध गरिएको छ ।