लापरबाही नगरी क्वारेन्टीनमा बस्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फैलन नदिन थप आठ दिन लकडाउन बढाउन सरकार बाध्य भएको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले नागरिकहरुको सुरक्षाका लागि यो भन्दा प्रभावकारी उपाय नभएको बताए । उनले नेपाली जनताको साथ, सहयोग, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय सरकारको भूमिकाको मुक्तकण्ठले प्रशंशा गरे । प्रधानमन्त्रीले स्थानीय समुदाय र सामाजिक संघ संस्था र जनप्रतिनिधिले तदारुकतापूवर्क राहत वितरणमा सहभागी भएकोमा धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले विदेशबाट आउने व्यक्तिबाट नेपालभित्रका मानिसमा कोरोना संक्रमण भएपछि नेपाल दोस्रो चरणको कोरोना भाइरस संक्रमण नियन्त्रणको चरणमा प्रवेश गरेको बताए । यस्तो संक्रमणलाई सकेसम्म सानो घेरामा राख्न सरकार प्रयत्नशील रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘धेरै नेपाली घर फर्केको र धेरैले क्वारेन्टीनमा बस्न गरेको आग्रह नमानी लापरबाही गरिरहेका छन् । यो लापरबाही तिनको परिवार र सिंगो परिवारका लागि महँगो पर्न सक्छ ।’ उनले कोभिड १९ को रोकथाम उच्चस्तरीय समितिको अगुवाइ आवश्यक निर्णयहरु भैरहेको र निर्णयहरु कार्यान्वयनका लागि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मार्फत् काम भइरहेको बताए ।
कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरु सहित सरोकारवाला सम्मिलित सीसीएमसीमार्फत् बिरामीको पहिचा र उपचारका लागि विभिन्न संयन्त्रहरु त्यार भएको प्रधानमन्त्रीको भनाई थियो । बिरामी ओसारपसारको व्यवस्था, मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश तहमा कोरोना नियन्त्रण समिति र स्थानीय तहमा वडास्तरमा वडा अध्यक्षको संयोजन राहत वितरण, विरामी पहिचा, बेरोजगार र विपन्न हरुको रेखदेखका लागि काम भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले ३०,५६६ जना राख्न सकिने क्वारेन्टीन, ९,१६८ क्वारेन्टीनमा रहेको, ३,२५९ को

आइसोलेसन वार्ड तयार भएको र त्यहाँ ९५ जना उपचाररत रहेको बताए । संक्रमण फैलन नदिने, फैलिए नियन्त्रण गर्न सरकार पूर्ण तयारीमा जुटेको उनको भनाई थियो । उनले पोलिमरेज चेन रियाक्सन प्रविधिबाट परिक्षण शुरु भएको र सात प्रदेशका १० परिक्षण केन्द्रबाट परिक्षणलाई तीव्रता दिएको बताए । अहिलेसम्म १,८९० को परिक्षण भएको छ । प्रधानमन्त्रीले जोखिम भएका जिल्लामा आरडीटी विधिबाट व्यापाक परिक्षण गर्ने तयारी भैरहेको बताए उनले पीपीई, मास्क तथा स्वास्थ्य सामग्री लगायत भेन्टिलेटरहरुको व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताए ।
उनले नेपाली कामदार बहुल रहेका देशहरुमा सरकार प्रमुखहरुसँग संवाद गरी उनीहरुलाई सुरक्षित राख्न पहल भैरहेको उल्लेख गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *