भाडामा बस्नेले विद्युत् महशुलमा छूट पाउँछन् : ऊर्जामन्त्री पुन
काठमाडौं, २९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना तथा लकडाउनका कारण प्रभावित नागरिकलाई विद्युत् महशुलमा छूट दिने सरकारको निर्णय भाडामा बस्नेहरूलाई समेत लागू हुने स्पष्ट पारेका छन् । यसअघि सरकारले १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महशुल छूट दिने निर्णय गरे पनि सो सुविधा कस–कसले पाउने भन्ने अन्यौल कायमै थियो ।
शनिवार राष्ट्रिय समाचार समिति (रासस)सँगको विशेष अन्तर्वार्तामा मन्त्री पुनले नागरिकलाई राहत दिने लक्ष्यसहित सरकारले दिएको उक्त सुविधा घरधनीले मात्र नभई भाडामा बस्नेले समेत पाउने बताएका हुन् । ‘सबै गार्हस्थ्य ग्राहकलाई छूट दिएका छौं । भाडामा बस्नेले पनि सहायक मिटर लिएको हुन्छ, त्यसको अध्ययन गरेर १५० युनिटसम्ममा २५ प्रतिशत छूट पाउनेछन्,’ उनले भने, ‘सरकारले दिएको छूट कोठामा बस्नेले पनि पाउनुपर्छ ।’
साथै, आगामी दिनमा यसलाई अध्ययन गरेर, अस्थायी वा सब–मिटरको सम्बन्धमा अलगअलग छूट गर्ने महसुस गरिएको समेत मन्त्री पुनले बताए । ‘लाखौं मान्छे डेरामा बस्ने अवस्था छ । घरबेटीले छूट पाउने तर जुन वर्गलाई हामीले लक्षित गरेका छौं,’ तिनले नपाउने अवस्था आउन सक्छ,’ उाले भने, ‘त्यसलाई हामी आगामी दिनमा सामान्य अवस्था आएपछि इन्डक्सन वा विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्ने नीतिका साथ अगाडि बढाउँछौं ।’
बजारमा रहेको झण्डै २० हजार विद्युतीय चुल्हो विक्री भइसकेको भन्दै मन्त्री पुनले अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही चुल्हो ल्याउने तयारी गरेको जानकारी दिए ।
कुल १० युनिटसम्म विद्युत् प्रयोग गर्ने ग्राहकलाई सेवा शुल्क बाहेक निःशुल्क विद्युत् दिने प्रस्ताव समेत गरिएको उनले बताए । त्यस्तै विभिन्न चरणमा इन्डक्सन चुल्हो प्रयोग गर्ने मध्यमवर्गीय उपभोक्तालाई पनि सस्तो पर्ने गरी प्रस्ताव गरिएको उनको भनाइ थियो । ‘विद्युतीय सवारी प्रयोग गर्नेका लागि जति धेरै प्रयोग गर्यो, त्यत्ति नै कम विद्युत् महसुल लाग्ने प्रस्ताव गरिएको छ,’ उनले भने, ‘विगतमा जति बढी प्रयोग गर्यो, उत्ति नै महसुल बढी लाग्ने अवस्था थियो, किनभने हामीसँग विद्युत् नै कम थियो । अहिले धेरै प्रयोग गरून् भनेर शुल्क निर्धारण गरेर पठाएका छौं । सामान्य अवस्था भएपछि आयोगले हेर्छ भन्ने नै हाम्रो विश्वास हो ।’