पर्वतमा विकास निर्माणका काम नरोकिने
पर्वत, ३० चैत । विकास निर्माण आयोजनाको काम निरन्तर अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय, पर्वतले अनुमति दिएको छ । लकडाउनको कारण रोकिएका सडक, खानेपानी, सिँचाइ, भवन निर्माण लगायत कामलाई निरन्तरता दिने निर्णय शनिवार जिल्ला प्रशासन कार्यालयले गरेको हो ।
जिल्लामा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग, मोदी–लेखनाथ विद्युत् प्रसारण लाइन, कालीगण्डकी कोरिडोर विद्युत् प्रसारण लाइन लगायत ठूला आयोजना निर्माणाधीन छन् । लकडाउनका कारण सबै विकासका आयोजनाको काम बीचमै रोकिएको छ ।
प्रशासनको आदेशपछि मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा उपलब्ध मजदूर खटाएर नालीमा स्ल्याब राख्न शुरू गरिएको छ । तर कामदारको अभावले अन्य काम भने शुरू हुन नसकेको आयोजना प्रमुख आशिष थापामगरले जानकारी दिए ।
मोदीखोलामा निर्माणाधीन दुई जलविद्युत् आयोजनाले पनि काम शुरू गर्ने तयारी गरेका छन् । यहाँ पनि मजदूर घर गएकाले तत्काल भौतिक निर्माणका काम अगाडि बढाउन समस्या छ । तल्लो मोदीखोला जलविद्युत् आयोजना परीक्षणको तयारीमा छ भने मध्यमोदी जलविद्युत् आयोजनाको विद्युत्गृहको काम बीचमै काम रोकिएको छ ।
लकडाउनका कारण बीचमै रोकिएका आयोजनाको काम शुरू गर्न प्रशासनले अनुमति दिए पनि कामदार र कच्चापदार्थको समस्या रहेको लामा कन्ष्ट्रक्सनका प्रतिनिधि गोविन्द भुसालले बताए । प्रशासनले केही शर्त पालना गरी विकास निर्माणका काम नरोक्न आदेश दिएको हो ।