एनआरएनएले सरकारलाई आवश्यकताअनुसार अन्य स्वास्थ्य सामाग्री दिने
काठमाडौं, १ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले आवश्यक परे थप सामग्री गैरआवासीय नेपाली संघ दिन तयार भएको बताएका छन् । आइतबार स्काइप कन्फ्रेन्स कलमार्फत एनआरएनएको ‘कोभिड–१९’ उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिको बैठकलाई सम्वोधन गर्दै पन्तले पहिलो चरणमा स्वास्थ्य सामग्री नेपाल पठाउन सफल भएको भन्दै आवश्यक परे अन्य स्वास्थ्य सामाग्री पनि दिन संघ तयार भएको बताएका हुन् ।
त्यस्तै उनले विदेशमा समस्यामा परेका विद्यार्थी र श्रमिकमा केन्द्रीत रहेको भन्दै पनि जानकारी दिए । अध्यक्ष पन्तले विदेशमा बसेका नेपालीको सुरक्षा एनआरएनएको पहिलो प्रथामिकतामा रहेको जानकारी दिए । खाना बस्ने प्रबन्ध गैरआवासीय नेपाली संघले गर्न सबै शाखा परिचालन गरिएको पनि उक्त बैठकमा जानकारी दिँदै उनले १ हजार ५ सय नेपाली संक्रमित भएको संंघलाई सूचना प्राप्त भएको जानकारी दिए । त्यसैगरी अहिले संघले २४ सै घण्टा हेल्प लाइनको व्यवस्था गरिएको उनको भनाइ छ । उनले भने–‘धेरैले नेपाल फर्किन चाहेका छन् । विदेशमा धेरै नेपाली अल्झेर बसेका छन् । विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउन सरकारसँग हामीले संवाद पनि गरिरहेका छौं ।’
त्यसैगरी बैठकमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संघले लिएको अग्रसरताको प्रशंसा गर्दै यो महासंकटमा विदेशमा रहेका नेपालीप्रति आफू बढी चिन्तित रहेको बताए । उनले अहिले सन्त्रासको अवस्था भएको र यसको सवल पक्ष भनेको लकडाउन कार्यान्वयन राम्रोसँग भइरहेकोले कोरोनाको संक्रमण फैलन नपाएको बताए । यसलाई स्थानीय तहमा सबै पक्ष एकै ठाउँमा उभिएर काम गरिरहेकाले सबैलाई धन्यवाद दिए । उनले आफ्नो निर्वाचन क्षेत्रमा ६ सय परिवारलाई खाना बस्नको समस्या देखिएको भन्दै अगामी बजेट बनाउँदा राम्रोसँग नसोच्ने हो भने भयावह अवस्था सिर्जना हुनसक्ने बताए ।
अस्ट्रेलियाबाट डा. कुश श्रेष्ठले गैरआवासीय नेपाली संघले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई पिपिइ दिने योजना रहेको बताए । डा. पुरु श्रेष्ठले स्वास्थ्य समितिले तत्काल गर्नुपर्ने काममा केन्द्रित रहेको बताए । उनले अल्पकालीन र दीर्घकालीन नीति तय गरिने बताए । डिजास्टर म्यानेजमेन्टसम्वन्धी छुट्टै निकायमार्फत काम गर्नुपर्ने उनको भनाइ छ ।
अमेरिका नेपाल मेडिकल फाउण्डसनका प्रतिनिधी डा. भुपेन्द्र बस्नेतले नेपालमा कोरोना भाइरसको स्याम्पल समेत अस्पतलामा लैजाने वतावरण नभएको बताए । उनले संघको सक्रियतामा बिभिन्न अस्पतालमा स्याम्पल लैजानको लागि छुट्टै एम्बुलेन्स तयारी अवस्था राखिएको जानकारी दिए । उनले नेपालमा अस्पताल र सरकारी निकायबीच समन्वयको अभाव रहेको बताए ।
नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. नारायणबिक्रम थापाले राम्रो पिपिइ नभएका कारण चिकित्सक मानसिक रुपमा दबाबमा रहेको बताए । उनले भने, ‘कोविड–१९ को लागि छुट्टै अस्पतालको अभाव छ, उपलव्ध पिपिइको गुणस्तर मापन गर्न छुट्टै संयन्त्र आवश्यक छ ।’
डा. सुनिता हिराचनले नेपालमा फिल्डमा काम गर्ने स्वास्थकर्मीका लागि स्वास्थ्य सामग्री प्रयाप्त नभएको बताइन् । उनले सरकारले वितरण गरेको समान कहाँ छ त्यो अस्पताललाई जानकारी छैन् । क्षेत्रीयस्तरमा टेस्ट सुरु भएको छ, ७५ प्रतिशत भेन्टिलेर भरिएको र सरकारले थप भेन्टिलेरको प्रबन्ध गर्न लागेको बताइन् ।
दक्षिण कोरियाबाट डा. देवी बस्नेतले कोरियामा रहेका गैरआवासीय नेपालीको सक्रियतामा संकलित स्वास्थ्य किटलगायतको स्वास्थ्य सामग्री नेपाल पठाइसकिएको जानकारी दिए ।
बैठकमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले बैदेशिक रोजगारमा मध्यपूर्वमा रहेका नेपालीको अवस्था भयानक हुनसक्ने बताए । मध्यपूर्वमा सरकारी निकायले कोभिड–१९ पीडितको तथ्यांक बाहिर नल्याउँदा नेपाली समुदायसमेत प्रभावित भएको उनको भनाइ थियो ।
बैठकमा एनआरएनए हेल्थ समितिका संयोजन डा. सञ्जीव सापकोटाले आगामी दिनमा समेत क्षेत्रीय स्तरमा स्वास्थ्य सम्वन्धी अन्तरक्रिया संचालन गरिने जानकारी दिए ।