Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोना विरुद्ध एडीबीको २० अर्ब डलर

काठमाडौं, १ वैशाख ।
दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले २० अर्ब अमेरिकी डलरको सहायता प्याकेज सार्वजनिक गरेको छ । यसअघि प्रारम्भिक घोषणाको ६.५ अर्ब अमेरिकी डलरको प्याकेज सार्वजनिक गरेको एडीबीले त्यसमा १३.५ अर्ब अमेरिकी डलर थपेर २० अर्ब अमेरिकी डलरको प्याकेज सार्वजनिक गरेको हो ।
यो प्याकेज विश्व बैंकको भन्दा ठूलो प्याकेज हो । विश्व बैंक र आइएफसीले अहिलेसम्म संयुक्त रुपमा कोरोना विरुद्ध १४ अर्ब डलरको प्याकेज सार्वजनिक गरेका छन् । यसमध्ये ८ अर्ब डलर आइएफसीले निजी क्षेत्रका लागि ऋण प्रदान गर्नेछ भने, विश्व बैंकले ६ अर्ब सहुलियत ऋण दिनेछ ।
एडीबीले घोषणा गरेको प्याकेजबाट सहायताग्राही राष्ट्रले सहज र सरल ढंगले द्रुतमार्गबाट सहायता लिन सक्छन् ।
एडीबीका अनुसार २० अर्ब डलरमध्ये साढे दुई अर्ब डलर जति अनुदान र सहुलियत ऋण सहायता हो । जसबाट स्वास्थ्य सामग्री र अत्यावश्यक सामग्री समेत अनुदानमा दिइनेछ । अनुदानबाट चिकित्सा सामग्री , पीपीइ र अत्यावश्यक वस्तु उपलब्ध गराइनेछ । त्यस्तै, २ अर्ब निजी क्षेत्रका लागि परिचालन गरिनेछ भने बाँकी सरकारका लागि सहुलियत ऋणका रुपमा उपलब्ध गराइने उल्लेख छ ।
यो प्याकेज एडीबीको सञ्चालनका कतिपय नीतिहरुमा समायोजन गरी संकटलाई द्रुत सम्बोधतका लागि तयार गरिएको हो । यसले आन्तरिक व्यवसाय प्रक्रिया, धेरैथरी सहयोग विण्डोकोमा समावेश हुने दायरा विस्तार गर्नुका साथै सहायता प्राप्त गर्ने योग्यताका क्षेत्रहरु, शर्तहरु तद्नुकुल बनाएर एडीबी बोर्डले स्वीकृत गरेको छ ।
‘महाव्याधिले आर्थिक, सामाजिक र विकासका लाभमा गम्भीर रुकावट उत्पन्न गरेको भन्दै यसले गरिबी निवारणको प्रगतिमा अधोगति देखिएको र अर्थतन्त्र मन्दीको चपेटामा परेको छ, एडीबीका अध्यक्ष मासात्सुगु आसाकावालाई उद्धृत गर्दै एडीबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो विस्तारित र बृहद् प्याकेज छिटो, सरल र दृढतापूर्वक आवश्यकता अनुसार सम्बन्धित सरकार र निजी क्षेत्रमा पुग्नेछन् र महाव्याधिबाट उत्पन्न तत्कालका चुनौतीहरु सामना गर्न र आर्थिक गिरावटबाट बचाउन उचित सहयोग पुग्नेछ ।’
एनले थप गरिएको प्याकेज अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य संयुक्त राष्ट्रसंघीय नियोगहरुको सहकार्यमा प्रदान गरिने एडीबीले जनाएको छ ।
एडीबीले हालसालै महाव्याधिको विश्वव्यापी असर बारे प्रक्षेपण सार्वजनिक गरेको थियो । यसले कुल गार्हस्थ उत्पादनमा २.३ देखि ४.८ प्रतिशतसम्मको गिरावट देखिनसक्छ भने क्षेत्रीय अर्थतन्त्र यसअघिको ५.२ प्रतिशतको प्रक्षेपणबाट २.२ प्रतिशतको गिरावट आउनसक्ने प्रक्षेपण गरिएको छ ।
नयाँ प्याकेजमा एडीबीले काउन्टरसाइक्लीकल सहयोगको व्यवस्था छ । पछिल्लो विकल्पका माध्यमबाट १३ अर्ब अमेरिकी डलर सहयोग प्रदान गरिने एडीबीले जनाएको छ । यो सहयोग गरिब र जोखिम बढी रहेको कमजोर समुदायमा केन्द्रीत गरी कोरोना भाइरसको असर न्यूनीकरणमा परिचालन गर्न सम्बन्धित सरकारले सहयोग पाउँछन्
एडीबीको प्याकेजको २० अर्बमध्ये २ अर्ब निजी क्षेत्रका लागि उपलब्ध गराइनेछ । ऋण तथा जमानतको रुपमा व्यापार र आपूर्ति शृंखला पुनस्र्थानाका लागि २ अर्ब डलर खर्च गरिन लागेको हो । तरलता अभाव भएका लघु, घरेलु तथा साना उद्यमका लागि लघुकर्जा र जमानतको व्यवस्था पनि गरिने एडीबीले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x