चार्टर्ड विमानबाट २२८ बेलायती स्वदेश फर्किए
काठमाडौं, ५ वैशाख । संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर बेलायत फर्किएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडान मार्फत बेलायतले स्वदेश फर्काइरहेको छ । यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले बेलायती नागरिक लगेको थियो । उसको यो तेस्रो चार्टर्ड उडान हो ।
एयर अरेबियाको कार्गो जहाज पनि आजैसाँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ । विभिन्न अत्यावश्यक सामग्री लिएर आउने उक्त जहाज भने काठमाडौंबाट रित्तै फर्कने भएको छ ।