लकडाउन थपघटबारे छिमेकी देशको परिस्थिति हेरेर निर्णय लिइने
काठमाडौं, ११ वैशाख । अर्थ, सूचना, सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले १५ गतेपछि लकडाउन खोल्ने वा थप्ने भन्ने विषयमा छिमेकी देशको अवस्था हेरेर निर्णय गर्ने बताएका छन् । बिहीवार सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले देशको स्थिति र अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राखेर अर्काे निर्णय गरिने जानकारी दिएका हुन् ।
अहिले सरकारको प्राथमिकता जनताको जीवन रक्षा भएकाले त्यसै अनुरूप काम भइरहेको मन्त्री खतिवडाले बताए । ‘जीवन रहे अन्य जोखिमलाई त पछि पनि उकास्न सकिन्छ,’ उनले भने, ‘अहिलेको अवस्था भनेको जनताको जीवन रक्षा नै हो ।’
यो जोखिम विश्वव्यापी रूपमा रहेको र नेपालले एकतर्फी निर्णय गर्न नसक्ने पनि उनको भनाइ थियो । समयमा महत्वपूर्ण निर्णय गरिएकाले समुदायमा कोरोना भाइरसको संक्रमण नफैलिएको दाबी गर्दै मन्त्री खतिवडाले लकडाउन नै यसको उपयुक्त विकल्प भएको बताए । उनले भने, ‘लकडाउन खोल्दा हाम्रो स्वास्थ्य उपचारको पूर्व तयारी, नागरिकमा पर्याप्त सामाजिक दूरीको चेतना र कोरोनाको जोखिमबाट मुक्त भए÷नभएको कुरा हेर्नुपर्छ ।’
अहिले आपूर्तिको व्यवस्था सहज भएकाले कोही पनि आत्तिनुपर्ने आवश्यकता नरहेको समेत मन्त्री खतिवडाले बताए । आम नागरिकलाई खाद्य सामग्री किन्न जान केही असहजता भए पनि आपूर्तिमा केही समस्या नभएको उनको भनाइ थियो । अत्यावश्यक सामग्रीहरु अझै पनि स्टक रहेको र आवश्यकता अनुसार आपूर्ति गरिने भएकोले नागरिकलाई समस्या नपर्ने उनले बताए ।