२७औं वर्ष प्रवेशः अबको यात्रा थप सशक्त र रचनात्मक
काठमाडौं, १३ बैशाख । ‘अर्थको अर्थ’ कार्यक्रम २७औं वर्षमा प्रवेश गरेको छ । आइबीएन मिडिया एण्ड रिसर्च प्रालिद्वारा आर्थिक कार्यक्रम उत्पादन गरी राष्ट्रिय टेलिभिजन च्यालनमार्फत् प्रसारण गर्न सुरु गरेको हाम्रो यात्रा अविरल छ । आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ । अर्थतन्त्र, वित्त, व्यववसाय, रोजगारी र उत्पादनको महत्वलाई आम मानिसहरुमा बुझाउँदै, यसको प्रवद्र्धनका लागि नीतिगत सुझावहरु सहितका कार्यक्रम हामीले प्रस्तुत गर्दै आयौं ।
यो बीचमा हाम्रो मुलुकको निजी क्षेत्रको क्रमशः विस्तार हुँदै गयो । निजी क्षेत्रले सेवा सुविधामा सहजता, सार्वजनिक सेवाको गुणस्तरमा सहयोग गर्दै आए । एउटा ठूलो परिवर्तन नेपालको निजी क्षेत्रको विकास हाम्रो कार्यक्रमले आफ्नो यात्रामा देख्यो । त्यसो त विभिन्न कठिनाइ आरोह, अवरोह यात्राका विशेषता हुन् । सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन, शान्ति प्रक्रिया, महाभूकम्प, संविधान निर्माण, नाकाबन्दी तथा अहिले कोरोनाको महामारीजस्ता ठूला घटनाहरुको हामी साक्षी रह्यौं ।
निजी क्षेत्रको विकास यात्राको सन्दर्भमा चर्चा गर्ने हो भने बैंक तथा वित्तिय संस्थाहरुको विकास, गुणस्तरीय सेवा, बाह्य लगानीको आमन्त्रण, दूरसञ्चार सेवामा भएको प्रगति, पर्यटन क्षेत्रको विकास, वैदेशिक रोजगार र रेमिट्यान्स आप्रवाहको जगमा भएको द्रुत गरिबी निवारण, सामाजिक विकासका सफल अभ्यास, पूर्वाधार विकासलाई हामीले प्रत्यक्ष अनुभुति गरेका छौं ।
हाम्रो यात्राको यो दौरानमा हामीले कार्यक्रम उत्पादन र प्रसारणका अतिरिक्त अन्तक्र्रिया, तालिम र क्षमता विकास, बौद्धिक बहसका सेमिनारहरु, अध्ययन अनुसन्धानमा समेत केन्द्रित भयौं । आगामी दिनमा पनि अझै रचनात्मक कामहरु गर्दै जानेछौं । दूरसञ्चारको विकासमा भएको रुपान्तरणकारी प्रगतिसँगै हामीले आफ्ना कार्यक्रम, समाचारहरुको सहज सम्प्रेषणका लागि डिजिटल प्लेटफर्मलाई समेत सशक्त बनाउँदै ‘अर्थको अर्थ डट कम’ अनलाइन पोर्टल समेत सञ्चालन गर्दै आइरहेका छौं ।
यतिबेला मुलुक कोरोना महामारीको विश्वव्यापी संकटमा अन्य मुलुकहरुसँग एकसाथ जुझिरहेको छ । हाम्रो अर्थतन्त्रमा भीमकाय समस्याका चाङ खडा भएका छन् । यसको समाधानका लागि सबै सरोकारवालाहरुको साथ सहयोग र सहकार्य जरुरी हुन्छ । मिलेर काम गरे हामीले अर्थतन्त्र पुनरुत्थानको अवधि छोट्याउन सक्छौं । आगामी दिनमा अर्थको अर्थले सरकार र निजी क्षेत्रलाई आर्थिक पुनरुत्थानका लागि रचनात्मक भूमिका निर्वाह गरी ठोस सहयोग पुर्याउने प्रण गर्दछौं । उत्पादन विकास, रोजगारी सिर्जना र सार्वजनिक सेवा तथा निजी क्षेत्रका सशक्तिकरण लागि सधैं हातेमालो गर्दै अघि बढ्नेछौं ।
- हृदयराज गौतम
प्रबन्ध निर्देशक
आइबीएन मिडिया एण्ड रिसर्च प्रालि