पुनर्निर्माणमा करिब ४ खर्ब खर्च भैसकेको छ
- सुशील ज्ञवाली, सीईओ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
महाभूकम्प गएको ५ वर्ष पुगिसकेको छ, भूकम्प ‘विल्ड ब्याक बेटर’ को अवधारणमा पुनर्निर्माण भएको छ त ?
हामीले विल्ड ब्याक बेटर एण्ड सेफरको अवधारणा अनुसार नै हिजोभन्दा राम्रो र सुरक्षित पुनर्निमाण गरिरहेका छौं । निर्माणको क्रममा रहेका र निर्माण भैसकेका ८ लाख घरहरुमा सुरक्षाका सबै कम्प्लायन्स परिक्षण गरेर मात्र दोस्रो, तेश्रो किस्ता रकम भुक्तान गरिइको हो । त्यी हिजोभन्दा राम्रो छन् । सुरक्षित छन् । हामीले जति पनि विद्यालयहरु निर्माण ग¥यौं । विद्यालय पुनर्निर्माण गर्दा भत्केको एउटा भवन या क्षति भएको संरचनामात्र होइन, सम्पूर्ण विद्यालय नै पुनर्निमाण गरेका छौं । विद्यालयको वर्गीकरण अनुसार यो काम भइरहेको छ । विद्यालयमा थप भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, खेलमैदान, आवश्यक कक्षा कोठा सबै सुविधाहरुको प्रबन्ध गरिएको छ । हाम्रो पुरातात्विक संरचना हिजोको जस्तै कलात्मक बनाएका छौं तर सुरक्षित बनाएका छौं ।
तर पुनर्निर्माण भएका धेरै घरहरु मानिसहरु बस्न योग्य छैनन् भन्ने समाचारहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत आइरहेका छन् ?
हामीले जति पनि घरहरु बनाएका छौं, त्यी गाउँघरमा मानिसले आफ्नो रुचि, स्रोतको उपलब्धता र आवश्यकता अनुसार बनाउनुभएको छ । म आफैं धेरै ठाउँमा पुगेर हेरेको छु । उहाँहरुले दुई तीन कोठे घर माथि पनि चोटा राखेर बनाउनुभएको छ । भान्सा काठ, बाँस या स्थानीय निर्माण सामग्री प्रयोग गरेर छुट्टै बनाउन थाल्नुभएको छ । अन्नभण्डारका लागि छुट्टै ठाउँ बनाउनुभएको छ । हामीले दिएको तीन लाख रुपैयाँ अनुदानका आधारमा एउटै मोडलमा मात्र लाभग्राहीलाई बाध्य पार्न सकिने स्थिति थिएन । त्यसैले पुनर्निर्माण भएका घरहरु बस्न अयोग्य छन् भन्ने होइन । ढुंगा र माटोले बनेको घर सुरक्षित बन्छ भन्ने कतिपयलाई थिएन, तर त्यसलाई अनुसन्धान गरीकन ढुंगामाटोले पनि सुरक्षित घर बनाउने प्रविधि चीनबाट लिएर आयौं ।
हामी अझै पनि भूकम्पीय जोखिममा छौं । यो पुनर्निर्माणबाट हामीले के पाठ सिक्यौं ?
सबैभन्दा महत्वपूर्ण सुरक्षित घर बनाउन जरुरी रहेछ । भूकम्प आफैंले मान्छे मार्ने होइन, आफैंले बनाएका संरचनाले नै मानिसलाई क्षति हुने हो । मानिसहरु साक्षर भएका छन् । भूकम्प प्रभावित ३२ जिल्ला बाहेक अन्य ठाउँमा पनि यो सन्देश लैजानुपर्छ । अहिले निर्माण भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरण बनेको छ । यो प्राधिकरणलाई त्यहाँ हस्तान्तरण गर्ने योजना अनुसार पनि हामीले काम गरिरहेका छौं । उक्त प्राधिकरण, सहरी विकास मन्त्रालय, नगरपालिका र गाउँपालिका त्यहाँको जनशक्तिको क्षमता विकास गरेर घरहरु सुरक्षित बनाउने भवन मापदण्ड लागू गर्न सकियो भने सुरक्षित नेपाल बनाउने अभियानमा सफल हुनसक्छौं । त्यस्तै ठूलो भूकम्प आयो भने क्षति नहोस् भनेर अन्य भूभागमा बनिसकेका घरलाई पनि प्रबलीकरण गर्ने विभिन्न खालका मोडल र प्रविधि विकास गरेका छौं । बनिसकेका घरलाई नभत्काइकन हामीले रेट्रोफिट गर्न सक्छौं । सबैभन्दा महत्वपूर्ण त स्थानीय सरकारको क्षमता वृद्धि नै हो ।
भूकम्प पुनर्निर्माणमा अहिलेसम्म कति खर्च भयो ?
अहिलेसम्म करिब ४ खर्ब रुपैयाँ खर्च भैसकेको छ ।