बजेट अधिवेशन बैशाख २६ मा
काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ मा संसद्को बैठक आह्वान गरेकी छिन् । सरकारको सिफारिशमा उनले बजेट अधिवेशन (वर्षे अधिवेशन) वैशाख २६ गतेदेखि आह्वान गरेकी हुन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशनको मिति सिफारिश गरेको थियो । जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारले राष्ट्रपतिमार्फत् नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले अधिवेशन बोलाउन तयारी थालिएको हो । वैशाख २५ सम्म सरकारले लकडाउन लागू गरेकाले त्यसलाई मध्यनजर गर्दै वैशाख २६ को मिति तय गरिएको हो ।
अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । प्रधानमन्त्रीसँग भेटेर सभामुखको उक्त आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक दूरी कायम राखेर कसरी संसद् सञ्चालन गर्न सकिन्छ भनेर हेर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए ।
सत्तारुढ नेकपा भित्रको द्वन्द्वपनि शनिबारको सचिवालय बैठकबाट पार लागेपछि आजको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीमा भौतिक दूरी कायम गरेर संसद्को सभाहल व्यवस्थापन कार्य अघि बढाइएको संसद्का कार्यवहाक महासचिव गोपालनाथ योगीले बताएका छन् । अहिलेलाई एउटा कुर्सी छाडेर सांसद्हरु बस्न सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा भर्चुअल मिटिङको व्यवस्था नरहेको र सदन चल्नका लागि एक चौथाइ उपस्थिति हुनुपर्ने अर्थात् कोरम पु¥याउनै पर्ने व्यवस्था छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी शुरु गरिसकेको छ । प्रतिनिधिसभा नियमावली अनुसार बजेट प्रस्तुत गर्नु १५ दिन अघि पूर्व बजेट छलफल सम्पन्न गरिसक्नुपर्छ ।