बैंकिङ कारोबारमा आधारित सरकारको वित्तस्थिति ५६ करोड २८ करोडले घाटामा
काठमाडौं, ५ जेठ । आर्थिक वर्ष २०७६-७७ को ९ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति रू. ५६ अर्ब २८ करोडले घाटामा पाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रू. १७ अर्ब २९ करोडले बचतमा रहेको थियो ।
राष्ट्र बैंकले प्रकाशन गरेको चालू आवको ९ महीनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च रू. ६ खर्ब ३८ अर्ब १ करोड रहेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रू. ५ खर्ब ९६ अर्ब ६२ करोड रहेको थियो ।
यस्तै समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) रू. ५ खर्ब ९० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रू. ६ खर्ब ४ अर्ब ६० करोड रहेको थियो ।
साथै समीक्षा अवधिमा सरकारले रू. ५५ अर्ब ४२ लाख आन्तरिक ऋण र रू. ४५ अर्ब ७८ करोड बराबरको बाह्य ऋण परिचालन गरेको छ । २०७६ चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रू. १ खर्ब ६२ अर्ब ३१ करोड (स्थानीय तहको खातामा रहेको रू. ६२ अर्ब ८६ करोडसमेत) नगद मौज्दात रहेको प्रतिवेदनले देखाएको छ ।
प्रदेश सरकारको हकमा आर्थिक वर्ष २०७६÷७७ को ९ महिनामा प्रदेश सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च रू. ५६ अर्ब ५३ करोड रहेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति रू. ९३ अर्ब ५६ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी रू. ६० अर्ब ५४ करोड हन्तान्तरण गरेको छ । यसै अवधिमा प्रदेश सरकारले राजस्व र अन्य स्रोतबाट ३३ अर्ब १ करोड परिचालन गरेका छन् ।