कोरोना भाइरस विरुद्धको खोपको ‘क्लीनिकल ट्रायल’ सकारात्मक
न्यूयोर्क टाइम्स । अमेरिकाको म्यासाचुसेट्स स्थित जैविक प्रविधि अनुसन्धान र विकास कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध मानिसमा परिक्षण (क्लीनिकल ट्रायल) गरिएको खोपले सकारात्मक नतिजा दिएको जनाएको छ । कम्पनीले आठजना स्वस्थ स्वयंसेवकहरुमा गरेको परिक्षणमा भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने एण्टीबडी बनाएको बताएको छ । यससँगै कम्पनीले छिट्टै नै बृहद् रुपमा मानवमा परिक्षण गर्ने जनाएको छ । यो सफलतासँगै विश्वव्यापी महामारी रोकिन सक्ने आशाको किरण देखिएको छ । धेरैले सायद यसैकारण अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केही दिन अघि मानिसहरुलाई खोप लगाउन सेना परिचालनको चर्चा गरेको हुनसक्ने बताएका छन् ।
प्हिलो ८ जनामा गरिएको परिक्षणमा दुई डोज भ्याक्सिन लगाइएको थियो । अब यो परिक्षण सयौं र हजारौंको संख्यामा हुनेछ । यसले मात्र भ्याक्सिनले काम गर्न सक्छ या सक्दैन भनेर पत्ता लगाउन सकिन्छ । मोडर्नाको प्रविधि एमआरएनए प्रजातिको भाइरसबाट आनुवंशिक पदार्थबाट विकास गरिएको हो । यो सापेक्ष रुपमा नयाँ र यसको कुनै स्वीकृत भ्याक्सिन छैन ।
यो समाचारका कारण मोडर्नाको सेयर मूल्य २५ प्रतिशतले बढेको छ । पछिल्लो ६ हप्ता यताकै उच्च सेयर मूल्य वृद्धि भएको हो । सेयर बजार बढ्नुको अर्को कारण भनेको फेडरल रिजर्भका अध्यक्ष जेरोन एच पोवेलले केन्द्रीय बैंकले अर्थतन्त्र र बजारलाई सहयोग गर्छ भनेर दिएको अभिव्यक्ति पनि प्रमुख कारण हो । न्यानो मौसमको सुरुवातसँगै अमेरिकी राज्यहरुले लकडाउन खुकुलो गर्ने संकेत दिएका छन् । अमेरिकीहरु पुनः उनीहरुको स्वतन्त्रता चाहान्छन् । पुनः बार र रेष्टुरेण्ट तथा बजारमा गएर पूर्ववत् जीवन यापन गर्न चाहान्छन् । गत हप्ता धेरैजसो दिनमा दैनिक १००० मानिसहरुको मृत्यु भयो । भ्याक्सिनमात्रै अब महामारी रोक्ने, न्यूनीकरण गर्ने एउटा आशा र विकल्प हो । विश्वभर ५० लाख मानिसहरु यसबाट संक्रमित भैसकेका छन्, ३ लाख १५ हजार मानिसहरुको मृत्यु भइसकेको छ । विश्व अर्थतन्त्रमा पक्षघात भएको अवस्था छ ।