सार्वजनिक यातायात सञ्चालनमा ल्याउन कार्यविधि सहित छलफल शुरू
काठमाडौं, २६ जेठ । सरकारले लडकडाउनको मोडालिटी परिवर्तनको तयारी गरिरहँदा सार्वजनिक यातायात सञ्चालनसम्बन्धी छलफल समेत शुरू गरिएको छ । लकडाउनको कारण साढे २ महिना ठप्प भएका सार्वजनिक यातायात पुनः सञ्चालनमा ल्याउनेबारे यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल थालेको छ । कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालन सम्बन्धी कार्यविधि बनाएर विभागले यसमा छलफल शुरू गरेको छ राससमा उल्लेख ।
सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरूप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ । जोखिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल थालिएको विभागले बताएको छ । कार्यविधिमा सार्वजनिक यातायातभित्र यात्रुबीच कसरी दूरी कायम गर्ने, सवारी साधनलाई कसरी सुरक्षित बनाउने, भाडा दिने÷लिने कसरी गर्नेलगायतका विषय समेटिएका छन् ।
सार्वजनिक सवारी साधन खुल्ने मिति टुंगो नभए पनि सरकारले निर्णय गर्नासाथ सञ्चालनका लागि आवश्यक तयारी भइरहेको विभागले बताएको छ । विभागका अनुसार शुरूमा ठूला र साना कस्ता सवारीसाधन वा कति संख्यामा कसरी सवारी साधन खुलाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ ।
यातायात व्यवसायीले भने सार्वजनिक यातायात सञ्चालन गर्नु पहिले सरकारले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन् । सरकारले बन्दाबन्दी खुकुलो बनाउनका लागि यातायातको साधन खुलाउनुपर्ने भए पनि यसबाट संक्रमण फैलनसक्ने जोखिम रहेको व्यवसायी, सर्वसाधारण एवं सरोकारवालाहरूले औंल्याएका छन् । देशभर झण्डै दुई लाख ५५ हजार सार्वजनिक सवारी साधन सञ्चालनमा छन् । त्यसमा ५ लाखभन्दा बढीले रोजगारी पाएको बताइन्छ ।