बैंकिङ प्रणालीमा अधिक तरलता, व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा रिभर्स रिपोको प्रयोग
काठमाडौं, ३० जेठ । नेपालमा लामो समयदेखि कायम लकडाउनका कारण बैंकिङ प्रणालीमा अधिक तरलता बढेको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह ठप्पप्रायः हुनुका साथै निक्षेप रकम बढेकाले अधिक तरलता देखिएको हो । अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत अल्पकालीन अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ ।
बुधवार रिभर्स रिपो उपकरणको बोल तथा निष्कासन गरी राष्ट्र बैंकले उक्त रकम प्रशोचन गरेको हो । सो रकम आगामी असार ३ गते परिपक्व हुनेछ । यो उपकरणको प्रयोग ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७१’ बमोजिम गर्छ । रिभर्स रिपो उपकरणको निष्कासन बोलकबोल प्रक्रियाबाट हुन्छ भने उक्त बोलकबोल ब्याजदरमा आधारित हुन्छ ।
अधिक तरलता अधिक हुँदा प्रशोचन गर्ने र तरलता कमी हुँदा नगद प्रवाह गर्ने गरेर राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दै आएको छ । यो उपकरणको निष्कासनमा बहुब्याजदर विधिको प्रयोग गरिन्छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ । विगतका वर्षमा यस अवधिमा लगानीयोग्य पूँजी अभाव हुने गरेको थियो ।