Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बैंकरलाई कुलिङ पिरियड, पेन्सन खानेहरु धमाधम नियुक्ति खाँदै

बैंकरलाई कुलिङ पिरियड, पेन्सन खानेहरु धमाधम नियुक्ति खाँदै

काठमाडौं, ३० जेठ । ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तो बैंकरलाई कुलिङ पिरियडको नियम बनाउनेहरु नै धमाधम सरकारी नियुक्ति खाइरहेका छन् । कतिपयले नेपाल राष्ट्र बैंककै नियमन हुने बैंक तथा वित्तिय संस्थामा नियुक्ति लिएका छन् । नेपाल राष्ट्र बैंकका पेन्सनरहरुमध्ये वासुदेव अधिकारी नेपाल बैंकको अध्यक्ष छन् । त्यस्तै, कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्ष छन् । अर्थ मन्त्रालयबाट सेवा निवृत्त भएलगत्तै निर्मलहरि अधिकारी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्त भए ।

बैंकरहरुलाई कुनै बैंकबाट अवकाश लिएपछि ६ महिना कुलिङ पिरियडको व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । तर यो व्यवस्था लागू गर्नेहरु नै ६ महिनापनि नबित्दै राष्ट्र बैंकले नियमन गर्ने संस्थाको सञ्चालक समितिमा नियुक्ति लिइरहेका छन् । नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त भएलगत्तै तत्कालीन कार्यकारी निर्देशक भीष्मराज ढुंगाना पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको सल्लाहकार बनेका थिए । केही समयपछि सरकारले उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनायो । नियामक निकायबाट नियामक निकायमै काम गर्न जानुलाई त्यति अप्रासंगिक नमानिएला तर नियामक निकायबाट उही नियामकले नियमन गर्ने सेवा प्रदायकमा नियुक्ति लिनुलाई जायज मान्न नसकिने सरोकारवालाहरु बताउँछन् ।

कानुनी छिद्रको प्रयोग गरेर लाभको आकर्षक पद लिनेमा नेपाल राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल पर्छन् । उनी केन्द्रीय बैंकको सेवा निवृत्तिसँगै प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति लिएका थिए । प्रभु बैंककै सञ्चालकको अर्को भेन्चरमा प्रवेश गर्नुले राष्ट्र बैंकमा रहँदा उनले अवाञ्छित सौदा गरेको आशंका गरिएको छ ।
राष्ट्र बैंक आफैं नियम बनाउने र त्यसका अधिकारीहरुले नै उल्लंघन गरेपछि केन्द्रिय बैंकमाथि पनि नैतिक प्रश्नको तरबार झुण्डिएको छ ।

कतिपय सरकारी अधिकारीहरु निवृत्तिभरण समेत लिएर सरकारबाट दोहोरो सुविधा लिने गरी समेत नियुक्ति लिएका छन् । त्यसका एउटा उदाहरण हुन्– पूर्व सचिव सुशील घिमिरे । उनी पर्यटन मन्त्रालयका पूर्व सचिव समेत हुन् । अहिले उनी नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षका रुपमा दोहोरो सुविधा लिइरहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा नेपाल राष्ट्र बैंकका पूर्व पेन्सनर हुन् । उनी राष्ट्र बैंकबाट आउने पेन्सन कटाएर मन्त्रीले पाउने अतिरिक्त सुविधा मासिक १६ हजार रुपैयाँ लिन्छन् । त्यसो त नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारी पनि डेपुटी गभर्नरबाट अवकाश लिएपछि राष्ट्र बैंकका पेन्सनर हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x