तातोपानी भन्सारबाट १ अर्ब ३४ करोड राजस्व संकलन
काठमाडौं, २४ असार । भूकम्पको ४ वर्षपछि गत वर्ष जेठ १५ गतेदेखि सञ्चालनमा आएको तातोपानी भन्सारबाट चालू आर्थिक वर्षको यो अवधिसम्ममा १ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । भूकम्पअघि उक्त नाकाबाट वार्षिक ४ अर्बदेखि ५ अर्ब रुपैयाँसम्म राजस्व संकलन हुने गरेकोमा आयात निर्यात घट्दा राजस्वमा पनि असर परेको हो ।
४ वर्षअघि तातोपानी भन्सार हुँदै चीनबाट वार्षिक १५ अर्ब रुपैयाँको आयात र नेपालबाट ५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुने गरेको थियो । तर भूकम्पपछि नेपालबाट चीनतर्फ हालसम्म सामान निर्यात नभएको भन्सार कार्यालयले बताएको छ । गत वर्ष सञ्चालनमा आएयता यो नाकाबाट ८ अर्ब रुपैयाँभन्दा बराबरको सामग्री आयात भएको छ ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार गत जेठ १५ पछि ८ अर्ब २० करोड मूल्य बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको हो । पछिल्लो २ महिनायता सबैभन्दा बढी रकमको सामग्री भित्रिएको छ । तिनमा स्वास्थ्य सामग्री र अन्य सामग्री छन् । कोभिड–१९ प्रतिरोधी स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, तयारी पोसाक, लत्ताकपडा, स्याउ, लसुन, कृषि उपकरण, बीउबिजन लगायतका सामग्री नेपाल आयात भएको भन्सार कार्यालयले बताएको छ ।