नेप्से परिसूचक १३३१.१० विन्दुमा, कारोबार रकम घट्यो
काठमाडौं, २५ असार । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.५७ अंकले वृद्धि भई १३३१.१० विन्दुमा रोकिएको हो । नेप्सेमा सूचिकृत क वर्गका कम्पनीको परिसूचक मापक सेन्सेटिभ इन्डेक्स पनि आज ०.४७ अंकले वृद्धि भई २८०.४१ विन्दुमा पुगेको छ ।
बुधबारको तुलनामा कारोबार रकममा भने कमी आएको छ । बुधबार १ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज १७ करोडभन्दा बढी रुपैयाँले शेयर कारोबारमा कमी आएको हो ।
आज १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता शेयर ९० करोड ८० लाख रुपैयाँमा खरिद विक्री भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआईशी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र वमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सर्वाधिक शेयर मूल्य वृद्धि भएको छ । आज शेयर मूल्य सूर्याेदयको ८० रुपैयाँ, एनआईसी एशियाको ३३ रुपैयाँ र वमीको ८५ रुपैयाँ वृद्धि भई प्रतिशेयर मूल्य क्रमशः ८८१, ३६४ र ९४४ कायम भएको छ ।
आज कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग र उद्योग समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । बैंकिङ्ग समूको ०.०३ प्रतिशत र उद्योग समूहको २.११ प्रतिशतले परिसूचकमा गिरावट आएको हो । परिसूचक सर्वाधिक वृद्धि हुनेमा म्यूचुअल फण्ड समूह रहेको छ । म्यूचुअल फण्डको परिसूचक २.९४ प्रतिशत वृद्धि भएको हो ।