साझा यातायात साउन १ गतेदेखि सञ्चालन गर्ने तयारी
काठमाडौं, २७ असार । सरकारले सार्वजनिक यातायत सञ्चालन गर्न दिने निर्णय गरेसँगै साझा यातायातले पनि बस सञ्चालन गर्ने तयारी थालेको छ । साझाले आगामी साउन १ गतेदेखि छोटो दुरीमा बस सञ्चालन गर्ने गरी तयारी थालेको हो ।
साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरका अनुसार बस कुन रुटमा कति चलाउँने भन्ने बारे छलफल भईरहेको छ । ‘सरकारले भरखरै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।’ उनले भने, ‘सरकारको निर्णयअनुसार हामीले बस सञ्चालन गर्ने तयारीमा जुटेका छौं । तर, कतिपय चालकहरु बाहिरी जिल्ला गएका पनि छन् । उनीहरु आउँने वित्तिकै बस चलाउँन दिनु पनि भएन् । जनशक्तिको अभावमा पहिलो चरणमा कम बस सञ्चालन हुनसक्छन् ।’
तुलाधरले आगामी साउन १ गतेदेखि नै बस सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए । ‘सम्भवत साउन १ गतेदेखि नै बस सञ्चालन गर्ने तयारी गर्दै छौं ।’ उनले भने, ‘सरकारले भने अनुसार सेनिटाईजर राखेर र दुई वटा सिटमा एक जाना यात्रु राखेर बस सञ्चालन गरिने छ ।’
त्यस्तै साझा यातायातका अध्यक्ष कणकमणी दीक्षितले पनि सेवा दिन तयार अवस्थामा भन्दै गाडिको फोटोे सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
गत बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्री परिसद्का निर्णयहरु सुनाउँदै छोटो दुरीमा सार्वजनिक यातायात चल्न दिने पनि निर्णयको सुनाएका थिए । यो निर्णय असार २६ गतेबाट नै लागु हुने उनको भनाई थियो । तर, सरकारले गरेको लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र प्रभावित भएको भन्दै यस क्षेत्रमा काम गर्ने चालक, सहचालक र व्यवसायीलाई कुनै किसिमको राहात प्याकेज नल्याएको भन्दै तत्काल सार्वजनिक यातायात सञ्चालन नगर्ने अडानमा व्यवसायीहरु उत्रिएका छन् । आफूहरुका माग सराकारले सम्बोधन नगरे आन्दोलनमा उत्रने उनीहरुले पत्रकार सम्मेलन गरी चेतावनीसमेत दिएका छन् ।