मल अभावकै बीच देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न
काठमाडौं, २७ असार । अत्यावश्यक रासायनिक मल अभावकै बीच हालसम्म देशभर आधाभन्दा रोपाइँ सम्पन्न भएको छ । समयमै मनसुन शुरू भएकाले गतवर्षको तुलनामा यस वर्ष रोपाइँ पनि छिट्टै शुरू भयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
समयै रोपाइँ शुरू भएर सम्पन्न हुनेतिर अघि बढ्दै गर्दा किसान भने उत्साहित छैनन् । आवश्यकता अनुसार मल आयात नहुँदा अधिकांश किसानले पाउन सकेका छैनन् । जसोतसो रोपाइँ गरेका किसान धानबालीमा मल हाल्नै नपाउने हो कि भन्ने चिन्तामा किसानहरू छन् ।
सरकारसँग यति बेला मलको भण्डार रित्तिने क्रममा छ । भारतमा रोकिएर रहेको मल आउन ढिला भइरहेको छ । सरकारसँग अहिले युरिया ३ हजार मेट्रिकटन, डीएपी १२ हजार मेट्रिक टन र पोटास ४ हजार मेट्रिक टन मौज्दात रहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडको २५ सय मेट्रिक टन मल कोलकाताका रोकिएको छ । यद्यपि १ हप्ताजतिमा उक्त मल नेपाल आइपुग्ने भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ ।
गुजरातको कान्डलामा रोकिएको २१ हजार मेट्रिक टन मल अझै नेपाल ल्याउन सकिएको छैन । आपूर्तिकर्ताले कान्डलामा मल छाडिदिएपछि मल त्यही अलपत्र परेको छ । कान्डला हुँदै तेस्रो मुलुकबाट सामान ल्याउन नपाइने हुँदा मल त्यही अड्किएको हो । कूटनीतिक माध्यमबाट मल ल्याउन पहल गर्ने भनिए पनि अझै त्यो पहल सफल हुन सकेको छैन । नेपाल भारतबीच विवाद बढ्दै गएकाले पनि मल ल्याउन थप समस्या भएको बताइएको छ ।