एनआईसी एशिया बैंकमा नगद जम्मा गर्न अब अनलाइनबाटै भौचर भर्न सकिने
काठमाडौं, १ साउन । एनआईसी एशिया बैंकले खातामा नगद रकम जम्मा गर्ने भौचर अनलाइनबाटै भर्न मिल्ने प्रणालीको सुरुवात गरेको छ । यो प्रणालीको सुरुवात भएसँगै ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरबाट अनलाइन भौचर भर्न सक्नेछन् ।
बैंकले विकास गरेको लिंकमा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिनेछ । उक्त लिंक भित्र पुगेपश्चात् सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचरको व्यवस्था गरेको बैंकले जनाएको छ । उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाईने र तत्पश्चात् उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै नगद भौचर सोझै नगद काउण्टरमार्फत आफुले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सक्नेछन् ।
यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने जानकारी दिइएको छ । बैंकले ल्याएको अनलाइनबाटै भौचर भर्न सकिने सुविधाले ग्राहकलाई लाइन नबसी सेवा लिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले ३२६ वटा शाखा कार्यालयहरू, ४६४ वटा एटीएम, १०१ वटा एक्स्टेन्सन काउण्टर र ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।