Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

होटल संघ नेपाल र मजदूर युनियनबीच पारिश्रमिक सम्बन्धी सहमति

काठमाडौं, ४ साउन । पारिश्रमिकको विषयमा होटेल संघ नेपाल (हान) र सम्बद्ध मजदूर युनियनहरूबीच सहमति भएको छ । उक्त सहमति अनुसार होटेलको स्तरअनुसार कर्मचारी तथा श्रमिकले मासिक न्यूनतम रू. ४ हजार ३०० देखि १० हजारसम्म पारिश्रमिक पाउने भएका छन् ।
हान र होटेलसम्बद्ध तीन मजदूर युनियनबीच विभिन्न चरणको छलफलपछि उक्त सहमति भएको आइतवार पत्रकार सम्मेलन गरी हानले जानकारी गराएको छ । सो सम्झौता १३ अप्रिल २०२० देखि ३१ डिसेम्बर २०२० सम्म लागू हुने बताइएको छ । हान र मजदूर युनियनहरूबीच भएको सहमति अनुसार होटेलले काम दिन नसके पनि कर्मचारी तथा श्रमिकले होटेलको स्तरअनुसार न्यूनतम पारिश्रमिक पाउने हानकी अध्यक्ष सृजना राणाले जानकारी दिइन् ।
सम्झौतामा २०० ओटा कोठाभन्दा माथिका डिलक्स, पाँचतारे होटेल तथा सोही स्तरको रिसोर्टमा काम गर्ने कर्मचारी तथा श्रमिकले रू. १० हजार, २०० ओटा कोठाभन्दा कम रहेका डिलक्स, पाँचतारे होटेल तथा सोही स्तरका रिसोर्टका श्रमिकले रू. ९ हजार र १०० कोठाभन्दा बढी भएको चारतारे होटेल तथा सोही स्तरका रिसोर्टका श्रमिकले रू. ८ हजार ४५५, सय कोठाभन्दा कम भएको चारतारे होटेल तथा सोही स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीले रू. ८ हजार, तीनतारे होटेल तथा सोही स्तरका रिसोर्टका श्रमिकले रू. ५ हजार, दुईतारे होटेलका कर्मचारीले मासिक रू. ४ हजार ३०० र एकतारे, पर्यटक स्तरीय होटेल तथा रिसोर्टका श्रमिकले आपसी समझदारीमा पारिश्रमिक उपलब्ध गराइने सम्झौता भएको छ ।
यस्तै सम्झौता अवधिभित्र स्वैच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजीनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने कर्मचारीको सेवा अन्त्य हुँदा बन्दाबन्दी अगाडि खाईपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइने व्यवस्था गरिएको बताइएको छ । हानका अध्यक्ष राणा र कामदार तथा कर्मचारीहरूको तर्फबाट नेपाल स्वतन्त्र होटेल मजदूर युनियनका अध्यक्ष सूर्य कुँवर, अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदूर संघका अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा स्वतन्त्र होटेल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले २०७७ असार २८ गते यो सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौताको कार्यान्वयन र परिपालन गराउन अधिकार सम्पन्न संयुक्त कार्यदल समेत बनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x