एक दशकपछि पुरा भयो चमेलिया जलविद्युत आयोजना निर्माणको सपना
काठमाडौं, २८ माघ । बैतडी र दार्चुलाको सिमामा पर्ने बलाँचमा १० वर्षअघि निर्माण सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सम्पन्न भएको छ। सो आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उदघाटन गरे ।
उदघाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले समग्र सात नं प्रदेशको विकासको ढोका चमेलियाले खोलेको बताए। २०६४ सालदेखि निर्माण सुरु भएको आयोजना ८ अर्ब रुपैयाँ लागतमा बन्ने भनिए पनि समयमै निर्माण सम्पन्न गर्न नसक्दा १५ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । आयोजना प्रमुख अजय दाहालका अनुसार पुस २८ गतेदेखि यसको एउटा युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । यस जलविद्युत आयोजनामा १५ मेगावाटका दुई वटा युनिट छन् ।
आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । आयोजना नबन्दा प्राधिकरणलाई वार्षिक डेड अर्ब रुपैयाँ घाटा भइरहेको थियो । प्राधिकरणको उपभोत्ता महसुल औसतमा ८ रुपैयाँ ६० पैसा छ । यसका आधारमा एकातर्फ प्राधिकरणले आयोजनाबाट वार्षिकरुपमा १ अर्ब ५८ करोड ४२ लाख रुपैयाँ गुमाइरहेको थियो ।
सुरुमा ०६८ वैशाखमा आयोजनाको काम सक्ने लक्ष्य राखिएको थियो। सयमा काम सम्पन्न नहुँदा आयोजना निर्धारित समयभन्दा ६ वर्ष ढिलो गरी सम्पन्न भएको हो। आयोजनाको बाँध, विद्युत्गृह, सुरुङलगायत सिभिल संरचना निर्माण गर्न चिनियाँ कम्पनी सिजिजिसीसित सुरुमा २ अर्ब ८८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन, कमजोर भू–बनोटलगायतले आयोजनाको सिभिलतर्फको लागत ५ अर्ब ४२ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
आयोजनाको हालसम्मको यथार्थ खर्च एवं निर्णय प्रकृयामा रहेका विभिन्न ठेक्कासँग सम्बन्धित भेरिएन क्लेमसमेत गरी आयोजनाको कूल लागत करिब १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । चमेलियाको बत्ती राष्ट्रिय प्रसारण लाइनमा जोड्न १३१ किलोमिटर लामो बलाँच–अत्तरिया प्रसारण लाइन निर्माण गरिएको छ ।