लगानी बोर्डको सिईओ, यी हुन् बलिया तीन दाबेदार
काठमाडौं, ८ साउन । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि ६ जनाको नाम सर्टलिस्टमा परेको छ । १२ जनाले आवेदन दिएकामध्ये नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी संयोजक रहेको उपसमितिले ६ जनाको नाम सर्टलिस्ट गरी अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिश गरेको हो ।
गभर्नर अधिकारीको उपसमितिको छनौटमा परेका उम्मेदवारहरुमा विद्युत् नियमन आयोगका सदस्य रामकृष्ण खतिवडा, प्रदेश १ लगानी बोर्डका सिईओ डा. सरोज कोइराला, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली, पर्यटन बोर्डका पूर्वसिईओ दीपकराज जोशी, पूर्वबैंकर सुमन शर्मा र विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्ट रहेका छन् ।
उक्त सर्टलिस्टका आधारमा अर्थमन्त्री खतिवडाले तीनजनाको नाम छनौट गरी मन्त्रिपरिषद्मा लैजानेछन् । मन्त्रिपरिषद्ले तीनजनामध्ये एक जनालाई सिईओ नियुक्त गर्नेछ ।
उसो त सिईओ छनोटका लागि अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा एक सिफारिस समिति गठन गरिएको छ । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र योजना आयोगका पूर्वसदस्य गोविन्द नेपाल सदस्य छन् ।
सरकारसँगको सम्बन्ध, विदेशी लगानीकर्तासँगको डिल, विश्वभरका लगानी स्रोतमा नेपालको बजारीकरण लगायतका कारण यस पदमा आकर्षण देखिएको छ । अहिलेसम्म पूर्वबैंकर राधेश पन्त र नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीले सिईओको जिम्मेवारी सम्हालेका छन् ।
लगानी बोर्ड लगानी जुटाउने निकाय समेत भएकाले यहाँ राजनीतिक भन्दा पनि व्यावसायिक व्यक्तिलाई जिम्मेवारी सुम्पनुपर्ने जानकार बताउँछन् । लगानीकर्ताको मर्म बुझ्न सक्ने, लगानीकर्तासँग सहज रूपमा छलफल गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिँदा काम प्रभावकारी हुन्छ ।
यी हुन् बलिया तीन दाबेदार
छनौटमा परेका ६ जनामध्ये पनि बजारमा ३ जनाको चर्चा बढी छ । ६ जना नै व्यावसायिक र सक्षम भए पनि प्रदेश १ लगानी बोर्डका सिईओ डा. सरोज कोइराला, नेपाल पर्यटन बोर्डका पूर्वसिईओ दीपकराज जोशी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली बलिया दाबेदार भएको बताइएको छ । मन्त्रीपरिषद्मा सिफारिश हुने अन्तिम तीन नाममा उनीहरूले नै स्थान पाउने सम्भावना प्रबल छ ।
केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि युवराज भुसाललाई हटाएर ज्ञवाललाई दुई २ अघि मात्र प्राधिकरणको सिईओमा पुनः नियुक्ति गरिएको थियो । प्राधिकरणको समायावधि छिट्टै सकिँदै छ । प्रधानमन्त्री निकट रहेकाले ज्ञवालीको सम्भावना प्रबल रहेको स्रोतले जनाएको छ । तर सिईओका लागि जोशी पनि उपयुक्त पात्र भएको आकलन छ । नेपाल पर्यटन बोर्डमा लामो समय काम गरेको अनुभव समेत रहेकाले विदेशी लगानीकर्तासँग सहज रुपमा छलफल गर्न सक्ने र व्यावसायिक मर्म समेत बुझेकाले उनको पक्षमा पनि लबिङ सुरु भएको छ ।
६ जनाको छनोटमा परेका अर्का बलिया दाबेदारमा कोइरालालाई लिएको छ । उनी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को विषयमा नेपालमै पहिलो पटक विद्यावारिधि गर्ने अर्थविद् हुन् । सोही कारण यी तीन जानको प्रबल सम्भावना रहेको बताइएको छ । अबको केही साताभित्र बोर्डले नयाँ सिईओ पाउने निश्चित छ ।