सुनको मूल्य लाख नजिक, बिहीवार रू. ९९ हजार पुग्यो
काठमाडौं, १५ साउन । गत हप्तादेखि ठूलो अन्तरले बढ्न थालेको सुनको मूल्यले दिन प्रतिदिन नयाँ नयाँ रेकर्ड राख्दै आएको छ । बुधवार अघिल्लो दिनको तुलनामा २ सय बढेर रू. ३०० बढेर ९८ हजार ५०० पुगेको छापावाल सुन बिहीवार भने प्रतितोला ५०० बढेर ९९ हजार टेकेको छ ।
बिहीवार तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५५५ रुपैयाँ बढेर ९८ हजार ५६० पुगेको छ । बिहीवार चाँदीको मूल्यमा पनि कुनै परिवर्तन नभई १२ सय २५ रुपैयाँमै रोकिएको छ ।
आगामी दिनमा मूल्य अझै माथि जाने अनुमान गरिएको छ । यही महिना अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २ हजार डलर पुग्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर पुग्दा यहाँ प्रतितोला करिब १ लाख रुपैयाँसम्म पुग्ने महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।
त्यती मात्र नभई केही समयपछि अन्तर्राष्ट्रिय बजारमा २२ सय डलर पुग्ने प्रक्षेपण गरिएको छ । सो समय नेपाली बजारमा सुन तोलाको १ लाख २५ हजार रुपैयाँ हाराहारीमा पुग्ने छ।