नेप्से परिसूचक ७.५३ अंक बढ्दा कारोबार १ अर्ब ३२ करोड माथि
काठमाडौं, १५ साउन । गत सोमबारदेखि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम कारोबार दिन बिहीबार (आज) सुधार आएको छ । आज नेप्से परिसूचक ७.५३ अंकले वृद्धि हुँदा १ अर्ब ३२ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ०.५३ प्रतिशत वृद्धि भई १४३९.०६ विन्दुमा रोकिएको छ ।
आज १८९ कम्पनीको २१ हजार ८१८ पटकको कारोबारमा ३४ लाख ३० हजार ५३२ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २२ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको अन्तिम शेयर मूल्य ५९९ कयम भएको छ ।
त्यस्तै आज कारोबारमा आएका १२ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । सबै समूहको परिसूचक वृद्धि भएर हरियाली छाएको हो ।