बीमाक्षेत्र विकास र अर्थतन्त्रको सुदृढीकरण
चिरञ्जीवी चापागाईं
अध्यक्ष, बीमा समिति
विकसित मुलुकमा बीमा सबैको जीवनमा अभिन्न अंग बनेको छ । अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा बीमालाई हेर्ने गरिन्छ । नेपालमा बीमाको इतिहास धेरै पुरानो छैन । तर पनि बीमा व्यवसाय क्रमशः विस्तारको क्रममा छ । आगामी दिनमा यसले दु्रततर गति लिनेमा कुनै सन्देह छैन । मानव समाजमा विपत्ति वा जोखिमका पर्याप्त सम्भावना छन्÷रहन्छन् । व्यक्तिगत जीवन, रोजगारी, व्यावसायिक कारोबार सबै क्षेत्रमा जोखिम व्याप्त छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो । बीमा जोखिम हस्तान्तरण गर्ने माध्यम मात्र नभई एक किसिमको बचत पनि हो ।
बैंकिङ क्षेत्रको बचत भोलि आफूलाई आवश्यक पर्दा तुरुन्तै निकालेर खर्च गर्न सकिन्छ । तर बीमाक्षेत्रको बचत अनिवार्य बचत जस्तै हो ।
जुनसुकै व्यवसाय वा सम्पत्तिमा जोखिम हुन्छ । त्यो जोखिम हस्तान्तरण गरी व्यक्ति निश्चिन्त हुन चाहन्छ । त्यो वातावरणको निर्माण बीमाले गर्छ । अर्कोतर्फ जीवन बीमाले बचत परिचालन पनि गर्छ । जस्तो, कुनै व्यक्तिले १५ वर्षको पोलिसी खरीद ग¥यो उसले परिपक्वता अवधिपछि बीमांक रकम वा त्यस अवधिबीचको बोनस दुवै प्राप्त गर्छ । क्षति भएमा बीचैमा सबै रकम पाइन्छ । जीवन बीमा बचतसँगै लगानीको अवसर हो । तर निर्जीवन बीमाचाहिँ शुद्ध जोखिम हस्तान्तरणको विधि हो । यसले व्यक्तिमा व्यावसायिकताको विकास गर्छ । न्यूनतम खर्चमा आफ्नो सम्पत्ति, आम्दानी, पर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो । यही आवश्यकताले बीमाक्षेत्रको विकास भएको छ ।
बीमाले अर्थतन्त्रमा दुईवटा महत्वपूर्ण योगदान गर्छ । एउटा प्रत्यक्ष योगदान । उदाहरणका लागि एउटा उद्योग छ, उद्योगमा आगलागी भयो भने भोलि व्यवसाय बन्द हुन सक्छ । बैंकले दिएको कर्जा नउठेर खराब कर्जाको अनुपात बढ्न सक्छ । त्यसको बीमा गरेको रहेछ भने बीमाले जोखिम बहन गरिदिन्छ । त्यसबाट व्यवसाय पनि बच्छ र बैंकको लगानी पनि सुरक्षित हुन्छ । यसले प्रत्यक्ष रूपमा उद्योग, व्यवसाय, बैंक लगायत सबै क्षेत्रको जोखिम धारणा गरेर व्यावसायिक वातावरणलाई सहज बनाउँछ । अर्को जीवन बीमाले जोखिम पनि वहन गर्छ र बचत पनि गर्छ । गाउँगाउँमा छरिएको बचतलाई बीमा शुल्क (प्रिमियम) मार्फत संकलन गरेर संगठित क्षेत्रमा लगानी गर्छ । जस्तो यस वर्ष जीवन बीमा क्षेत्रले मुलुकका ७५३ ओटै स्थानीय तहबाट बीमा अभिकर्ता मार्फत करिब ९० अर्ब रुपैयाँ प्रिमियम संकलन गरेर संगठित क्षेत्रमा ल्याएका छन् । यसले बैंक तथा वित्तीय क्षेत्रमा निक्षेपको रूपमा र धितोपत्र बजारमा लगानी भएको छ । गार्हस्थ्य बचत परिचालनका लागि यो क्षेत्र महत्वपूर्ण छ ।
बैंकिङ क्षेत्रको बचत र बीमाक्षेत्रको बचतमा केही फरक छ । बैंकिङ क्षेत्रको बचत भोलि आफूलाई आवश्यक पर्दा तुरुन्तै निकालेर खर्च गर्न सकिन्छ । तर बीमाक्षेत्रको बचत अनिवार्य बचत जस्तै हो । अरू सबै बचत सकिएपछि रकमको अभाव भयो भने पोलिसी राखेर कर्जा लिन सकिन्छ ।अन्तिममा अनिवार्य बचतको काम यसले गर्छ ।अर्थतन्त्रलाई निरन्तर चलायमान बनाउने काम बीमा व्यवसायबाट हुन्छ । यो क्षेत्रको विकास, विस्तार, नियमन एवं बीमितको हकहितको पक्षमा अगाडि बढेर नेपाली बीमा बजारलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याइएको छ ।
हालसम्म नेपालको कुल जनसंख्याको २२ प्रतिशतमा मात्र बीमाको पहुँच पुगेको छ । पहुँच विस्तारलाई अझ व्यापकता दिन बीमा समितिले २–३ वटा काम गरिरहेको छ । बीमाबारे जनचेतना अभिवृद्धि गर्ने विगतदेखिकै कार्यक्रम अनुरूप सबै स्थानीय तहसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौं । अर्को, बीमा कम्पनीहरूको शाखा कार्यालय नपुगेका ग्रामीण भेगहरूमा गएर घुम्ती बीमा मार्फत बीमामा जोड्ने काम गरेका छौं । यसमा जीवन बीमासँगै कृषि तथा पशुपन्छी र लघु बीमातर्फ जोड दिँदै सचेतना अभिवृद्धि गरेका छौं । आर्थिक वर्ष २०७७÷७८ मा २८ प्रतिशत (वैदेशिक रोजगारीमा गएका बाहेक) नागरिकलाई बीमामा आबद्ध गर्ने लक्ष्य छ । वैदेशिक रोजगारीमा गएका समेत गरी ३० प्रतिशतको लक्ष्य छ । अहिले १९ जीवन, २० निर्जीवन र १ पुनर्बीमा गरी ४० वटा कम्पनीले आफ्नो सेवा दिइरहेका छन् ।
त्यस्तै, बीमा क्षेत्रमा १० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने ५ लाखभन्दा बढी अभिकर्ताले काम गरिरहेका छन् । यो क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव कम गर्न समितिले कम्पनीहरूसँगको सहकार्यमा इन्स्योरेन्स इन्स्टिच्यु्ट नेपाल स्थापना गरी तालीम सञ्चालन गरिरहेको छ । बीमा शिक्षालाई विद्यालय र विश्वविद्यालय तहमा समावेश गराउने कार्यमा पनि हामी जुटिरका छौं । यसका अलावा गतवर्ष नै लगानी निर्देशिका जारी गरी कम्पनीहरूको लगानीलाई विविधीकरण गराएका छौं । यो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको लेखा प्रणालीको विकास पनि भइसकेको छ । अर्को कम्पनीहरूको नेटवर्थ, पूँजीगत अवस्था पनि सामान्य थियो । निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी २५ करोड र जीवन बीमा कम्पनीको ५० करोड रुपैयाँ थियो । थोरै पूँजी भएपछि आम्दानी राम्रै हुने भएकाले सेवा प्रदायकबीच प्रतिस्पर्धाको वातावरण नै भएन । त्यसका लागि हामीले दुईवटा काम ग¥यौं । १० वर्षदेखिको रोकिएको नयाँ कम्पनीको इजाजत वितरण ग¥यौं भने पूँजी वृद्धि पनि ग¥यौं । कम्पनीहरूको सुशासनका लागि नियमित अनुगमन, निरीक्षण र सुपरिवेक्षण हाम्रो प्रमुख दायित्व हो । यो काम नियमित भइरहेको छ । अब छिट्टै नयाँ ऐन पनि आउँदै छ ।
मानव जीवनमा आइपर्ने जोखिमको मात्रा र किसिम परिवर्तन हुँदै आएको स्थितिमा मानव जीवन र सम्पत्तिको आर्थिक सुरक्षा गर्ने माध्यमको रूपमा रहेको बीमा व्यवसायलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता छ । विश्वलाई त्रसित बनाएको कोरोना महामारीका कारण मानव अस्तित्वमा नै संकट उत्पन्न हुनुका साथै विश्व अर्थतन्त्र नै संकुचन हुने स्थिति सृजना भएको छ । यो अवस्थामा जोखिमको रक्षावरण गरी आर्थिक सबलीकरण गर्ने कार्यमा बीमाक्षेत्रले अझ बढी कार्य गर्नुपर्ने देखिन्छ । बीमाको महत्व र आवश्यकता समाजका न्यून आय भएका र विपन्न वर्गका मानिसमा अझ बढी हुने विषयलाई मध्यनजर गर्दै समितिको विशेष पहलमा कोरोना बीमालेख समेत जारी गर्न सफल भयौं । विभिन्न नीतिगत तथा कानूनी सुधारका कारण यो वर्ष नेपाली बीमा बजारको विकास र आधुनिकीरणका लागि महत्वपूर्ण वर्षको रूपमा रहन गएको छ ।
अहिले बीमालाई सबै क्षेत्रले सहर्ष स्वीकार गरेको पाइन्छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदानको हिसाबले हेर्दा करीब २–३ वर्ष अगाडि एक प्रतिशत मात्र योग्दान रहेकोमा आर्थिक वर्ष २०७५÷७६ मा २.६ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ को अन्तसम्ममा त्यो बढेर ३.४६ प्रतिशत पुग्ने अनुमान छ । बीमाक्षेत्र क्रमशः व्यवस्थित बन्दै गएको छ । बीमाको पहुँच पनि क्रमशः बढ्दै गएको छ । सबै हिसाबले बीमाक्षेत्रको वातावरण सौहार्दपूर्ण छ । यही प्रकृतिको विकासलाई निरन्तरता दिने हो भने बीमाको क्षेत्रमा मुलुकले छिट्टै निकै ठूलो फड्को मार्नेछ । त्यसकारण बीमाक्षेत्रको भविष्य उज्ज्वल छ ।
(अर्थको अर्थ स्मारिकाबाट साभार)