‘नागरिक स्टक डिलर’ले आगामी भदौभित्र काम सुरु गर्ने

काठमाडौं, २८ साउन । नागरिक लगानी कोषले सञ्चालन गर्न लागेको ‘नागरिक स्टक डिलर’ को काम आगामी भदौदेखि पूर्ण रुपमा सुरु गर्ने जनाइएको छ । पूँजीबजारको विकासका लागि सुरु गर्न लागिएको स्टक डिलरले प्रारम्भिक चरणहरु पुरा गरी नेपाल धितोपत्र बोर्डबाट सञ्चालनको स्वीकृति प्रमाणपत्र प्राप्त गरी भदौभित्र काम सुरु गर्ने कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए ।
उनका अनुसार आगामी भदौभित्र नै सम्पूर्ण चरण पुरा गरी डिलरले पूँजीबजारमा शेयर खरिद विक्रीका काम गर्ने छ । ‘स्टक डिलर नेपालका लागि नयाँ अभ्यास हो । बोर्डले प्रारम्भिक चरण पुरा गरी प्रमाणपत्रका लागि प्रक्रिया सुरु गर्न कोषलाई आह्वान गरेको छ ।’ उनले भने, ‘हामीले पनि सोही बमोजिम काम गरिरहेका छौ । सम्भवतः भदौभित्र नै सबै प्रक्रिया पुरा गरी हामी बोर्डबाट स्वीकृति प्रमाणपत्र प्राप्त गरी काम सुरु गर्ने छौं ।’
त्यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ आगामी भदौ १ गतेदेखि लागु गर्ने बताएको छ । यो कार्यविधिले स्टक डिलरको कामलाई अगाडि बढाउँन थप सहयोग पुर्याएको कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।
बोर्डले संस्थागत लगानीकर्ताहरुको उपस्थिति कम भएको कारण धितोपत्रको दोस्रो बजारमा उतारचढाव आएको भन्दै पूँजी बजारको विकासका लागि कोषलाई स्टक डिलरको प्रक्रिया शिघ्र अगाडि बढाउँन गत असार १ गते पत्राचार गरेको थियो ।