नेप्से परिसूचक झिनो अंकले बढ्यो, शेयर कारोबार रकम भने ३२ करोड घट्यो
काठमाडौं, २८ साउन । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५१ अंक वृद्धि भएको छ । गत कारोबार दिन मंगलबार (हिजो) ६.६१ अंक घटेको नेप्से परिसूचक बुधबार ०.११ प्रतिशत वृद्धि भई १४२५.३२ विन्दुमा उक्लिएको हो । नेप्से परिसूचकमा झिनो अंक वृद्धि भएको भएपनि शेयर कारोबार रकममा भने ३२ करोड रुपैयाँले कमी आएको छ । हिजो १ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज घटेर ९५ लाख १९ लाख रुपैयाँ मात्र भएको छ ।
१८८ कम्पनीको २० हजार ७१९ पटकको कारोबारमा ३० लाख ३२ हजार ३११ कित्ता शेयर खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर खरिद विक्री यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको भएको छ । यो कम्पनीको ६ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । आज कम्पनीको अन्तिम शेयर मूल्य ४१५ रुपैयाँ कायम भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पनि ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यो कम्पनीको अन्तिम शेयर मूल्य ५८८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सर्वाधिक कमाउनेमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरु रहेका छन् । यो कम्पनीको शेयर मूल्य ९.८९ प्रतिशतले वृद्धि भई अन्तिम शेयर मूल्य ५७८ रुपैयाँ कायम भएको छ । सर्वाधिक गुमाउनेमा यूनियन हाइड्रोपावर लिमिटेडका शेयरधनी रहेका छन् । यो कम्पनीको शेयर मूल्य ६.४५ प्रतिशत घटेर अन्तिम प्रतिशेयर मूल्य ५८ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी ६ समूहको परिसूचमा कमी आएको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ्ग समूह ०.३१ प्रतिशत, होटेल समूह ०.०५ प्रतिशत, निर्जीवन बीमा समूह ०.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.०१ प्रतिशत, जीवन बीमा समूह ०.०८ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.८८ प्रतिशत रहेका छन् । त्यस्तै परिसूक घट्नेमा उद्योग समूह ०.५९ प्रतिशत, विकास बैंक समूह ०.६ प्रतिशत, हाइड्रोपावर समूह ०.३४ प्रतिशत, वित्त समूह ०.६६ प्रतिशत, अन्य समूह ०.१९ प्रतिशत र लघुवित्त समूह ०.२८ प्रतिशत रहेका छन् ।