Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

अरनिको राजमार्ग पुनः अवरुद्ध, आयात निर्यात ठप्प

अरनिको राजमार्ग पुनः अवरुद्ध, आयात निर्यात ठप्प

सिन्धुपाल्चोक, ३२ साउन । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालवाहक कन्टेनर रोकिएका छन् भने आयात निर्यात समेत ठप्प भएको छ ।
असार अन्तिम साता बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुल्कोटमा पहिरो गएको १ सातापछि सुचारु गरिएको सडकखण्ड शनिवार राति र आइतवार बिहान परेको अविरल वर्षाका कारण पुनः अवरुद्ध भएको हो । बाह्रबिसे–तातोपानी सडकखण्डको १० भन्दा बढी स्थानमा सडक पहिरोले पुरेको भोटेकोशी गाउँपालिका–३ का स्थानीय चेङा शेर्पाले बताए । सडक अवरुद्ध भएकाले व्यापारिक तथा औषधिमूलक सामग्री बोकेका मालवाहक सुक्खा बन्दरगाहमै रोकिएको भन्सार कार्यालयले बताएको छ ।
पटकपटकको बाढीपहिरोले बन्द भएको उक्त सडक मर्मतपछि यही साउन १८ गतेदेखि सञ्चालनमा आएको थियो । हाल उक्त खण्डको डाक्लाङ र बुलकोटेमा सडक भास्सिएको सडक डिभिजन कार्यालय, दोलखाका प्रमुख विजयकुमार महतोले जानकारी दिए । ‘डाक्लाङ क्षेत्रमा ३०० मिटर सडक पहिरोले बगाएको छ,’ महतोले भने, ‘हामीले उपकरण लगाएर बाटो सफा गर्ने काम गरिरहेका छौं । तर पहिरो झरिरहेकाले सडक सुचारु हुने अवस्था छैन ।’ दैनिक एक्स्क्याभेटर लगायत उपकरणले पहिरो पन्छाउने गरिएको भए पनि पहिरो झर्नबाट रोक्न नसकिएको उनको भनाइ छ ।
बाटो अवरुद्ध हुँदा कोभिड–१९ संक्रमण रोकथामका लागि चीनको न्यालम जिल्लाले छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई सहयोग स्वरूप प्रदान गरेको औषधि लगायत सामग्री पनि भन्सारमै रोकिएको छ । ‘बाटो सुचारु नभएकाले चीनले सहयोग गरेका औषधि समेत पठाउन सकेका छैनौं,’ भन्सार अधिकृत गणेशप्रसाद पौडेलले भने । सीमाक्षेत्रमा बस्ने अवस्था नभएपछि मितेरी पुलमा कार्यरत सबै चिनियाँ कर्मचारी पनि गइसकेको पौडेलले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सयौं मालवाहक कन्टेनर केरुङ हँुदै रसुवागढी नाका भएर ल्याउनुपर्दा ढुवानी भाडा बढी पर्नुका साथै भन्सार जाँचपासमा ढिलाइका कारण व्यापारी मर्कामा परेको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले बताए । ‘तातोपानीको बाटो पहिरोका कारण जहिल्यै अवरुद्ध हुन्छ,’ सापकोटाले भने, ‘रसुवागढीबाट ल्याउँदा ढुवानी निकै महँगो पर्छ ।’ तातोपानी सडक स्तरीय बनाउन सरकारले पहल नगर्दा व्यापारीहरू मर्कामा परेको गुनासो उनले गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x