निषेधाज्ञाका कारण उद्योग व्यापारदेखि राजस्व संकलन समेत प्रभावित
काठमाडौं, १३ भदौ । देशभर कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि उपत्यका सहित विभिन्न ठाउँमा यति बेला निषेज्ञाज्ञा र लकडाउन जारी छ । काठमाडौं उपत्यकामा गत भदौ ३ गतेदेखि एक हप्ताका लागि गरिएको निषेधाज्ञा १७ गतेसम्मका लगि लम्ब्याइएको छ । यस्तै संक्रमण बढिरहेका विभिन्न जिल्ला÷नगर क्षेत्रमा समेत यसले निरन्तरता पाएको छ । तर यसको असर भने सामान्य जनजीवनदेखि आर्थिक व्यावसायिक क्रियाकलाप र सरकारको राजस्व संकलनमा समेत परेको छ ।
काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा तथा प्रमुख औद्योगिक क्षेत्र रहेका जिल्लाहरूमा जारी निषेधाज्ञाले यसअघिको लकडाउनले भन्दा बढी असर असर पारेको उद्यमी व्यवसायीले बताएका छन् । पछिल्लो निषेधाज्ञाका कारण उत्पादन, खपत तथा व्यापारमा ७५ प्रतिशतसम्म कमी आएको उनीहरूको भनाइ छ ।
वैशाख २६ गतेदेखि विभिन्न ४४ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय गरेसँगै औद्योगिक गतिविधिले विस्तारै गति लिन थालेकोमा अहिले पुनः गतिरोध आएको गुनासो उद्योगीहरूको छ ।
उपत्यकामा जारी निषेधाज्ञाले मुख्यगरी पसल व्यवसाय प्रभावित भएका छन् । लकडाउनको मारमा परेर खाली हुन सटरहरू खाली थालेकोमा हालको निषेधाज्ञाले झनै बढेको छ । महामारीका कारण व्यापार व्यवसाय सुकेपछि उपत्यकाका ४० प्रतिशत सटर खाली भएको अनुमान गरिएको छ । यो क्रम अझै बढ्न सक्ने व्यापारीहरू बताउँछन् ।
निषेधाज्ञाले सरकारकै राजस्व संकलनमा समेत असर परेको छ । लकडाउन खुलेपछि सुधारिँदै गएको राजस्व संकलन निषेधाज्ञाका कारण खुम्चिन पुगेको छ । आन्तरिक राजस्व विभाग र भन्सार विभागअन्तर्गतका कार्यालयहरूबाट निषेधाज्ञा अघिसम्म दैनिक रू. २ अर्बसम्म राजस्व संकलन हुने गरेकोमा अहिले आधाले घटेको सम्बन्धित कार्यालयको तथ्यांकले देखाउँछ । चीनतर्फका नाका सञ्चालनमा नआएको र भारततर्फका नाकाबाट पनि मालवाहक सामान कम आउँदा राजस्व संकलन प्रभावित बनेको भन्सार अधिकारीहरूको भनाइ छ ।